डिएसपीको अस्वभाविक आक्रोशः सुरक्षा कि शक्ति दुरुपयोग?


eShilalekh

२० कार्तिक २०७९, आईतवार १९:२६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष सुनिल गुप्तालाई प्रहरीले आईतवार दिउँसो करिब चार घण्टा नियन्त्रणमा राखेर छोडेको छ ।

फोहोर व्यवस्थापन हुन नसकेका कारण जीतपुर दुर्घन्धित बनेको भन्दै नगर प्रमुख राजन पौडेलसंग छलफल गर्न वडाबासीसहित उपमहानगरपालिकाको कार्यालय पुगेका वडाध्यक्ष गुप्तालाई प्रहरीले दुव्र्यवहार गर्दै नियन्त्रणमा लिएको हो ।

फोहोर व्यवस्थापनको सम्बन्धमा नगर प्रमुख पौडेलसंग छलफल गर्न जीतपुरका स्थानीयसहित वडाध्यक्ष गुप्ता उपमहानगरपालिकाको कार्यालय पुगेका थिए । तर नगर प्रमुख पौडेलले छलफल गर्न चासो नदेखाएपछि स्थानीयले उपमहानगरपालिकाको मुल गेटमा तालाबन्दी गरेका थिए ।

मुल गेटमा गरिएको तालाबन्दीलाई प्रहरीले भने निर्वाचन अधिकृतको कार्यालयसंग जोडेको थियो । उपमहानगरपालिकाको चौथो तल्लामा बारा क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय छ । स्थानीयले मुल गेटमा ताला लगाएपनि प्रहरीले भने निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएको आरोपसहित वडाध्यक्षलाई नियन्त्रणमा लिएको हो ।

वडाध्यक्षलाई नियन्त्रणमा लिदा उपहानगरपालिकाको मुल गेटमा लगाइएको ताला भने खुलिसकेको थियो । तालाबन्दी भएको सूचना पाएपछि पुगेका ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले वडाध्यक्षलाई धकेल्दै बाहिर निकालेका थिए ।

जनप्रतिनिधिको गरिमा बिर्सिएका प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले मुल गेटमा लगाएको ताला खुलेपछि वडाध्यक्षमाथी उक्त दुव्र्यहार गरेका हुन् । वडाध्यक्षलाई धकेल्दै बाहिर ल्याउने क्रममा प्रहरी नायब उपरीक्षक तिमिल्सना आक्रोशित देखिन्थे । उनले वडाध्यक्षलाई ‘किन हेरेको, लगेर थुन्दिउ’ भन्दै अभद्र व्यवहार गरेका थिए ।

उपमहानगरपालिकाको कार्यालयबाट बाहिर ल्याए लगत्तै प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले वडाध्यक्षलाई लगेर थुन्न निर्देशन दिएका थिए । उनले ईलाका प्रहरी कार्यालय जीतपुरका बरिष्ठ प्रहरी नायब निरीक्षक कलबहादुर शाहीलाई उक्त निर्देशन दिएपछि प्रहरीले वडाध्यक्ष गुप्तालाई सिमरा ल्याएको थियो ।

सिमरा ल्याएलगत्तै वडाध्यक्षलाई थुनुवा कक्षमा राखेको केही समयपछि प्रहरीले बाहिर निकालेका थिए । वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएपछि यता जीतपुरमा स्थानीयले सडक अवरुद्ध गरेका थिए । जनताको माग राखेर उपमहानगरपालिकाको कार्यालय पुगेका जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएपछि आफूहरुले विरोध स्वरुप सडक अवरुद्ध गरेको स्थानीय रमेश साह कलवारले बताए ।

स्थानीय विरोधमा उत्रिएपछि घटनालाई साम्य पार्न नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एकबाल मिया र प्रदेशसभा सदस्य पदका उम्मेदवार देवनारायण चौधरीले भूमिका खेलेका थिए । दुई उम्मेदवार र बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीबीचको छलफलपछि वडाध्यक्ष गुप्तालाई प्रहरी रिहा गरेको थियो । वडाध्यक्ष रिहा भएलगत्तै अवरुद्ध सडक संचालनमा आएको हो ।

वडाध्यक्षमाथी प्रहरीको अनावश्यक दुव्र्यवहार
जीतपुरको फोहोर व्यवस्थापन स्थानीयको स्वास्थ्यसंग जोडिएको संवेदनशिल विषय थियो । फोहोर व्यवस्थापनका लागि नगर प्रमुखको ध्यानाकर्षण गराउन स्थानीय अघि सरेपछि वडाध्यक्ष नजाने कुरै थिएन ।

वडाको फोहोर व्यवस्थापनको दायित्व आफ्नो पनि भएकाले वडाध्यक्ष वडाबासीसंगै कार्यालय पुगे । तर फोहोर व्यवस्थापनका सम्बन्धमा छलफल गर्न नगर प्रमुखले मानेनन् । वडाबासी नगर प्रमुखको कार्यकक्ष पुगेपछि संचारकर्मी समेत त्यहाँ पुगेका थिए । तर नगर प्रमुखले संचारकर्मीको अगाडी आफूले कुरा नगर्ने बताए ।

संचारकर्मीका अगाडी स्थानीयको समस्याका बारेमा छलफल गर्न नचाहेका नगर प्रमुख कार्यकक्षबाट उठेर चौथो तल्लामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर बसे । उनले स्थानीयको समस्या सम्बोधन गर्न चासो देखाएनन् ।

नगर प्रमुख निर्वाचन अधिकृतको कार्यकक्षमा गएर बसेपछि स्थानीय आक्रोशित हुँदै नगर प्रमुख र कार्यालयको मुल गेटमा ताला लगाए । त्यसलगत्तै निर्वाचन अधिकृतले मुल गेटमा ताला लगाएपनि यसै भवनभित्र निर्वाचन अधिकृतको कार्यालय रहेकाले ताला खुलाउन आग्रह गरे । निर्वाचन अधिकृतको आग्रहपछि स्थानीयले मुल गेटको ताला खोले ।

त्यसलगत्तै ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना उपमहानगरपालिकाको कार्यालय आईपुगे । तिमिल्सिनाले वडाध्यक्षलाई निर्वाचन अधिकृतको कार्यकक्षबाट बाहिर जान आग्रह गरे । तिमिल्सनाले वडाध्यक्षलाई बाहिर जान अनुरोध गर्दै गर्दा नेकपा माओवादी केन्द्र कार्यकर्ताहरु उक्त कार्यकक्षभित्रै थिए ।

वडाध्यक्षले आफू जनताको समस्या लिएर आएको बताएपनि प्रहरी नायब उपरीक्षक तिमिल्सनाले गुप्तालाई निकाल्ने प्रयास गरे । उनले वडाध्यक्षलाई धकेल्दै बाहिर निकाले । ताला खुलिसकेकाले वडाध्यक्षलाई धकेलेर बाहिर लैजानुपर्ने अवस्था भने थिएन् । जनप्रतिनिधिलाई उपमहानगरपालिकाको कार्यालयबाट धकेल्दै बाहिर निकाल्ने क्रममा तिमिल्सिनामा देखिएको आक्रोश भने अस्वभाविक थियो ।

स्थानीय र उपमहानगरपालिकाबीच द्धन्द्ध हुन नदिनका भूमिका खेल्नुपर्ने प्रहरी अन्तिम समयमा वडाध्यक्षमाथी किन जाईलागे? यो विषयको चर्चा सुरु भएको छ । घटनालाई साम्य बनाउन समन्वय गर्नुपर्ने प्रहरीनै विवाद बढाउने भूमिकामा देखिन आएको छ । प्रहरीको उक्त व्यवहारलाई सत्ता र शक्तिको दुरुपयोगसंग जोडेर हेर्न थालिएको छ । दलगत प्रतिनिधित्वका हिसाबले हेर्ने हो भने उपमहानगरपालिकाको नगर प्रमुख नेकपा माओवादी केन्द्र र वडा नं. ७ को वडाध्यक्ष एमालेका हुन् ।

निर्वाचनको समयमा एमालेलाई बदनाम गर्ने नियोजित प्रयासस्वरुप वडाध्यक्षलाई थुन्न लगाइएको र उक्त कार्यका लागि सत्ता र शक्तीको दुरुपयोग भएको आरोप स्थानीयको छ । जीतपुरका स्थानीय सुरेश गुप्ताले एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रको उम्मेदवार रहेको यस क्षेत्रमा एमालेलाई बदनाम गर्नका लागि सत्ता र शक्तीको दुरुपयोग गरेर प्रहरी परिचालित गरिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्