पथलैया र दुधौरामा स्वतन्त्र उम्मेदवार वाग्लेको घरदैलो सम्पन्न


eShilalekh

२० कार्तिक २०७९, आईतवार २१:२६

सिमराः बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको चुनावी घरदैलो आईतवार पथलैया र दुधौरामा सम्पन्न भएको छ ।

चुनाव प्रचारका क्रममा क्षेत्रको विभिन्न स्थानमा पुगिरहेका उम्मेदवार वाग्ले जीतपुरसिमरा १ को पथलैया र दुधौरामा घरदैलो गरेका हुन् ।

वाग्लेले पथलैयाको पुल पारी टोल र दुधौराको बस्तीमा घरदैलो गरेका थिए । घरदैलोका क्रममा स्थानीयको उत्साहजनक सहभागिता रहेको वाग्लेको चुनावी प्रचार अभियानमा जोडिएका नेपाली कांग्रेसका पूर्व नगरसचिव सुशिल ढोडारीले जानकारी दिएका छन् ।

पछिल्लो समय चुनावी अभियानमा स्थानीयको बढ्दो सहभागिताले चुनावी नजिता स्वतन्त्र उम्मेदवार वाग्लेको पक्षमा आउने दाबी ढोडारीले गरेका छन् । ‘कांग्रेसका कार्यकर्ताको जनमत समेत हामीले पाईरहेका छौं’ ढोडारीले भने ‘यो निर्वाचन हामी जित्दैछौ । निर्वाचन जित्ने गरी सबैको सहयोग र साथ पाईरहेका छौ ।’

घरदैलोसंगै स्वतन्त्र वाग्लेको चुनावी अभियानका लागि पथलैयामा सम्पर्क कार्यालय समेत स्थापना गरिएको ढोडारीले बताए । निर्वाचनलाई प्रभावकारी बनाउन क्षेत्रको विभिन्न स्थानमा सम्पर्क कार्यालय स्थापना गरिएको र सोही अनुसार चुनावी परिचालन भईरहेको उनले जानकारी दिए ।

उम्मेदवारी दर्ता गराएसंगै चुनावमा होमिएका वाग्लेले आफ्नो प्रचार अभियानलाई प्रभावकारी ढंगले अघि बढाएको देखिन्छ । नेपाली कांग्रेसका अगुवा नेता समेत भएकाले वाग्लेलाई कांग्रेसका समर्थक र शुभेच्छुकले खुलेरै साथ दिएका छन् । जसका कारण उनको चुनावी अभियान उत्साहजनक ढंगले अघि बढेको वाग्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्