स्वतन्त्र उम्मेदवार वाग्लेको पक्षमा जनमत बढ्दै, जीतपुर र रामवनमा घरदैलो सम्पन्न


eShilalekh

२१ कार्तिक २०७९, सोमबार १४:५५

सिमराः बारा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको पक्षमा जनमत दिनप्रतिदिन बढ्न थालेको छ । उम्मेदवारी दर्ता गराएसंगै चुनावी मैदानमा होमिएका वाग्लेको स्वतन्त्र अभियानमा कांग्रेसका कार्यकर्ता, समर्थकसहितको जनमत दिनप्रतिदिन बढेको देखिन्छ ।

उत्साहजनक समर्थन पाएपछि वाग्लेले आफ्नो चुनावी अभियानलाई तिब्र रुपमा अघि बढाउदै दिनँहु घरदैलो र चुनावी सभा समेत गरिरहेका छन् । सोही क्रममा वाग्लेले सोमबार जीतपुर र रामवनमा घरदैलो गरेका छन् ।

घरदैलोका क्रममा कांग्रेसका समर्थकसहित स्थानीयको उत्साह जनक सहभागिता रहेको नेपाली कांग्रेसका पूर्व नगर कमिटी सचिव सुशिल ढोडारीले जानकारी दिएका छन् । वाग्लेले स्वतन्त्र उम्मेदवारी दिएपछि ढोडारी समेत वाग्ले जिताउ अभियानमा जोडिएका छन् ।

ढोडारीका अनुसार वाग्लेको पक्षमा जनमत बढ्दो अवस्थामा रहेको बताए । ढोडारीले बारा क्षेत्र नं. ४ बाट वाग्ले निर्वाचित हुने र त्यसपछि होटल तथा पर्यटनको विकाससंगै यस क्षेत्रको अन्य पूर्वाधारको विकासले गति लिने दाबी गरे ।

होटल व्यवसायमार्फत यस क्षेत्रमा पर्यटन प्रर्वद्धनका लागि नेतृत्वदायी भूमिका खेलेका वाग्ले नेपाली कांग्रेसका अगुवा नेताका रुपमा स्थापित थिए । तर यस निर्वाचन क्षेत्रमा कांग्रेसलाई उम्मेदवारविहिन बनाएपछि वाग्लेले स्वतन्त्र अभियान सुरु गरेका हुन् । वाग्ले चापाकल चुनाव चिन्ह लिएर मतदातामा पुगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्