इच्छाको चुनावी सभामा प्रभु साह, स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह


eShilalekh

२३ कार्तिक २०७९, बुधबार ११:१३

सिमराः बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको मंगलवार फेटामा सम्पन्न चुनावी सभामा पूर्व मन्त्री प्रभु साह देखिए । रौतहटबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री साह वाग्लेको चुनावी प्रचारलाई सहयोग गर्न बारा आएका हुन् ।

वाग्लेको चुनावी सभामा उपस्थित साहले स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । साहले वाग्लेको जितपछि बारा ४ को विकासमा आफूले पनि सहयोग गर्ने बताए । होेटल तथा पर्यटन व्यवसायमार्फत यस क्षेत्रको बिकासका लागि वाग्लेको योगदान अहम रहेको भन्दै साहले विकासप्रेमी नेता वाग्लेको पक्षमा खुलेर मतदान गर्न आग्रह गरेका थिए ।

पूर्वमन्त्री साहले आफू रौतहटको भएपनि वाग्लेको जितपछि बारा ४ को विकासका लागि आफूले समेत भूमिका निर्वाह गर्ने बताएका छन् ।

सभामा स्वतन्त्र उम्मेदवार वाग्लेले आफ्नो स्वतन्त्र उम्मेदवारी लोकतन्त्र रक्षाका लागि भएको बताए । गठबन्धनको नाममा बढ्दो राजनीतिक विकृतीलाई अन्त्य गर्नका लागि मुलुकमा स्वतन्त्र अभियान सुरु भएको वाग्लेले बताए ।

जनताको मन जितेर एक्लै चुनाव लड्न नसक्ने स्थिती भएपछि विचार नै नमिलेका दलहरु चुनावको समयमा गठबन्धन गर्नु भनेको सत्तामा पुग्ने फोहोर खेलबाहेक अरु केही नभएको वाग्लेको भनाई थियो । वाग्लेले त्यस्ता अराजनीतिक गतिविधिलाई अन्त्य र नीतिगत परिवर्तनका लागि सुरु भएको स्वतन्त्र अभियानलाई साथ र सहयोग दिएर हौसला बढाउन वाग्लेले आग्रह गरे ।

आर्थिक विकास, समुन्नती र भष्ट्राचारको अन्त्य गरेर देशको विकास गर्नका लागि आफू अघि बढेको भन्दै वाग्लेले निजि क्षेत्रको लगानी बढाएर देशमा समृद्धि ल्याउन सकिने बताए । वाग्लेले निजि क्षेत्रको लगानी विना मुलुकमा समृद्धिको कल्पना पनि गर्न नसकिने भएकाले आफ्नो जितपछि निजि क्षेत्रको लगानी बढाएर बारा क्षेत्र नं. ४ संगै देशको विकासका लागि नेतृत्वदायी भूमिका खेल्ने बताए ।

सभामा पूर्वमन्त्री बद्री न्यौपाने, बारा ४(ख) का स्वतन्त्र उम्मेदवार उमेश कुशवाहा, ३(क) का स्वतन्त्र उम्मेदवार नारायण क्षेत्रीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी स्वतन्त्र अभियानमा जुटेका नागरिकलाई पूर्वमन्त्री साह र उम्मेदवार वाग्लेले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्