तनहुँमा समाजवादीका नेता गठबन्धनविरुद्ध उभिदा बारा ४ मा किसानलाई सकस


eShilalekh

२४ कार्तिक २०७९, बिहीबार १०:०१

सिमराः अघिल्लो निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित कृष्णकुमार श्रेष्ठ (किसान) अहिले बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएर चुनावी मैदानमा छन् । कमजोर जनाधारकाबीच पनि गठबन्धनबाट टिकट प्राप्त गर्न सफल श्रेष्ठ अहिले कांग्रेस, माओवादी र लोसपाका कार्यकर्ताको भरमा देखिन्छन् ।

ठुलो जनमत रहेको कांग्रेसलाई पन्छाउदै यस क्षेत्रबाट प्रतिनिधिसभामा एकिकृत समाजवादी, प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्र र प्रदेशसभा (२) मा लोसपाले गठबन्धनबाट टिकट पाएको छ । जनमतका आधारमा एकिकृत समाजवादी अत्यन्तै कमजोर देखिन्छ । बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतका आधारमा एकिकृत समाजवादी छैठौं स्थानमा छ ।

कमजोर सांगठानिक अवस्थाकाबीच बलियो शक्तिलाई उम्मेदवारविहिन बनाएर टिकट लिएका श्रेष्ठ यतिबेला कांग्रेसलाई फकाउदै निर्वाचन प्रचारमा जुटिरहेका छन् । तर गठबन्धनको निर्णयबाट असन्तुष्ट कांग्रेस भने श्रेष्ठलाई सघाउने पक्षमा देखिएका छैनन् ।

अपेक्षा अनुसारको सहयोग प्राप्त नहुने देखेपछि गठबन्धनकै ठुलो शक्ति कांग्रेसलाई फकाउन बल लगाईरहेका श्रेष्ठलाई यतिबेला एकिकृत समाजवादीका तनहुँ जिल्ला कमिटी सचिवको विज्ञप्तिले कठिन पार्ने देखिएको छ ।

तनहुँ क्षेत्र नं. २ को प्रदेशसभा (१) का उम्मेदवार समेत रहेका एकिकृत समाजवादीका जिल्ला कमिटी सचिव दुर्गाकुमार श्रेष्ठले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न नसक्ने भन्दै विज्ञप्ति निकालेका छन् । उक्त क्षेत्रमा गठबन्धनबाट प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी र प्रदेशसभा (१) तर्फ नेकपा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपाने उम्मेदवार छन् ।

तर श्रेष्ठ भने गठबन्धनका उम्मेदवारविरुद्ध उभिएका छन् । श्रेष्ठले विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय बनाउदै एमालेको प्रतिनिधिसभातर्फका उम्मेदवार किरण गुरुङ र प्रदेशसभा (१) का उम्मेदवार श्यामराजा महतलाई सहयोग गर्ने जनाएका छन् ।

तनहुँको जिल्ला कमिटी सचिवले विज्ञप्ति निकालेर कांग्रेस र माओवादीका उम्मेदवारलाई सहयोग नगर्ने बताएपछि त्यसको प्रभाव बारा ४ मा पर्ने देखिएको छ । कांग्रेस र माओवादीकै भरमा चुनाव जित्ने दाउमा रहेका पूर्वमन्त्री श्रेष्ठ उनकै गृह जिल्लाका पार्टी सचिवको विज्ञप्ति गठबन्धनविरुद्ध आएपछि समस्यामा पर्ने भएका हुन् ।

कांग्रेसका अगुवा नेता इच्छाबहादुर वाग्लेको स्वतन्त्र उम्मेदवारीले समस्यामा रहेका श्रेष्ठमाथी उक्त विज्ञप्तिले अर्को चुनौती थपेको छ । पछिल्लो समय स्वतन्त्र उम्मेदवार वाग्लेको पक्षमा कांग्रेसका नेताकार्यकता खुलेर हिड्न थालेपछि पूर्वमन्त्री श्रेष्ठ कमजोर बन्दै जान थालेका छन् ।

बारा ४ मा कांग्रेस उम्मेदवारविहिन भएपछि असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवारी दिएका वाग्लेको पक्षमा कांग्रेसका अगुवा नेताकार्यकर्ता समर्थनमा छन् । कांग्रेसको जीतपुरसिमरा नगर कमिटीका सचिव पूर्वसचिव, कांग्रेसका नेता हरि थपलियालगायतका नेता वाग्ले जिताउने अभियानमा खुलिसकेका छन् ।

हेर्नुस् विज्ञप्तिः

प्रतिक्रिया दिनुहोस्