स्वतन्त्र उम्मेदवार वाग्लेको चुनावी प्रचारमा खुल्दै कांग्रेसका कार्यकर्ता


eShilalekh

२४ कार्तिक २०७९, बिहीबार २०:२४

सिमराः बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका इच्छाबहादुर वाग्लेको घरदैलो र चुनावी प्रचारमा कांग्रेसका कार्यकर्ता खुलेर लाग्न थालेका छन् ।

कांग्रेस कार्यकर्ताकै आग्रहपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावी अभियानमा होमिएका वाग्लेको पक्षमा पछिल्लो समय कांग्रेसका नेताकार्यकर्ता र समर्थक खुलेर लाग्न थालेका हुन् ।

वाग्लेको चुनावी अभियानलाई मौन समर्थन गर्दै आएका कांग्रेसका सक्रिय कार्यकर्ताहरु अहिले सार्वजनिक कार्यक्रममा सहभागी भएर वाग्लेको पक्षमा मतदान गर्न अनुरोध गरिरहेका छन् ।

बारा क्षेत्र नं. ४ मा कांग्रेस उम्मेदवारविहिन भएपछि कांग्रेसका नेताकार्यकर्ता रुष्ट छन् । गठबन्धनले कांग्रेसको अस्तित्व समाप्त हुने गरी निर्णय गरेको भन्दै असन्तुष्ट कांग्रेसका नेताकार्यकर्ताको आग्रहपछि वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

सःशुल्क विज्ञापन

वाग्लेको उम्मेदवारीले बारा ४ मा चुनावी रौनक थप्नुका साथै आफूहरुलाई समेत उत्साहित बनाउन थालेको कांग्रेसका नेता कार्यकर्ताले बताउन थालेका छन् । पार्टीको आधिकारिक उम्मेदवार नभएपनि लामो समय कांग्रेसको राजनीति गरेका वाग्लेको उम्मेदवारी आफूहरुका लागि मतदान गर्ने विकल्प रहेको कांग्रेसका पूर्व नगर सचिव सुशिल ढोडारीले बताए ।

कांग्रेस कार्यकर्ताको सहभागितासहित वाग्लेले विहिवार तीन नम्बर पुल, अमलेखगंज र सिमरामा घरदैलो सम्पन्न गरेका छन् । घरदैलोमा स्थानीयको उत्साह जनक सहभागिता रहेको मुन्सन वाग्लेले जानकारी दिएका छन् ।

पछिल्लो समय बलियो जनमत साथमा लिएर चुनावी प्रचार गरिरहेका वाग्लेको उम्मेदवारीले बारा ४ मा त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा वाग्लेसहित नेकपा एमालेबाट पूर्वमन्त्री एकबाल मिया र एकिकृत समाजवादीबाट पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसान प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्