सरकारी बजेटले पूर्वमन्त्री किसान श्रेष्ठको निजि जग्गामा तटबन्धन


eShilalekh

२७ कार्तिक २०७९, आईतवार २०:१९

सिमराः बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवम् पूर्व श्रममन्त्री किसान श्रेष्ठको निजि जग्गामा सरकारी बजेटबाट तटबन्धन गरेको पाइएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ स्थित दुधौरा खोलासंगै जोडिएको पूर्वमन्त्री श्रेष्ठको जग्गामा सरकारी बजेटबाट तटबन्धन गरिएको हो ।

एकिकृत समाजवादीका नेता समेत रहेका पूर्वमन्त्री श्रेष्ठको उक्त क्षेत्रमा १० विगाह भन्दा बढी जग्गा छ । दुधौरा खोलासंगै जोडिएको उक्त जग्गा पूर्वमन्त्री श्रेष्ठले पटकपटक गरी खरिद गरेका थिए ।

विभिन्न व्यक्तिबाट खरिद गरिएको उक्त जग्गा जोगाउन सरकारी बजेट दुरुपयोग भएको स्थानीयले बताएका छन् । उक्त जग्गामा पछिल्लो दुई आर्थिक वर्षमा ६० लाख भन्दा बढी रकम तटबन्धनका लागि खर्च भएको छ ।

आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा दुई पटक श्रेष्ठको जग्गातर्फ तटबन्धन गरिएको छ । तटबन्धन निर्माण गर्न संघीय मन्त्रालयबाट रकम निकासा भएको हो । दुधौरा खोलाको पूर्वतर्फ पर्ने पूर्वमन्त्री श्रेष्ठको जग्गा तटबन्धनले जोगाईरहदा पश्चिमतर्फको जमिन भने बाढीले कटान गरेको देख्न सकिन्छ ।

स्थानीयका अनुसार पहिलो पटक गरिएको तटबन्धन बाढीले भत्काएपछि गत आर्थिक वर्षमा दोस्रो पटक तटबन्धन गरिएको थियो । करिब एक सय मिटर लामो उक्त तटबन्धन उपभोक्ता समितिमार्फत निर्माण भएको हो । दोस्रो पटक निर्माण भएको उक्त तटबन्धको केही भाग बाढीले क्षति पुर्याएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ५ र ११ लाई जोड्ने दुधौरा खोलाको पूर्वतर्फ पूर्वमन्त्री श्रेष्ठले पटकपटक गरी जग्गा खरिद गरेका थिए । उनले प्रतिकठ्ठा ८० हजारदेखि दुई लाखसम्मको मूल्यमा जग्गा खरिद गरेका हुन् । पूर्वमन्त्री श्रेष्ठको लगानीमा उक्त जग्गामा रांगापालन समेत हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्