पार्टीको आफ्नै उम्मेदवार नभएकाले स्वतन्त्र उम्मेदवार वाग्लेलाई भोट दिन्छौः कांग्रेस कार्यकर्ता


eShilalekh

१ मंसिर २०७९, बिहीबार २१:१९

सिमराः बारा क्षेत्र नं. ४ मा नेपाली कांग्रेस उम्मेदवारविहिन छ । सत्तारुढ गठबन्धनको भागबण्डाका कारण कांग्रेसले यो क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभातर्फ कतैपनि उम्मेदवार उठाउन पाएन् ।

यस क्षेत्रकै बलियो शक्ति भएपनि गठबन्धनबीचको भागबण्डामा कांग्रेस कमजोर देखियो । जसका कारण नेकपा एकिकृत समाजवादीले प्रतिनिधिसभा, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशसभामा टिकट लिईरहदा कांग्रेसको हात भने खाली रह्यो ।

प्रतिनिधिसभा र प्रदेशसभामा टिकटको दावी गर्दै आएको कांग्रेसले अन्तिम समयमा टिकट नपाएपछि यस क्षेत्रका कार्यकर्ता भने रुष्ट देखिएका छन् । कांग्रेसका कार्यकर्ताले पार्टीको आधिकारिक उम्मेदवार नभएका कारण आफूहरुको भोट स्वतन्त्रतर्फ जाने बताएका छन् ।

‘क्षेत्रमा यति बलियो पार्टी छ, तर हाम्रै पार्टीको उम्मेदवार छैन् । यो जति दुःखद् कुरा के होला ?’ बिश्रामपुरका रघुनाथ साहले भने ‘त्यसैले यो पटक हामी स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेलाई भोट हाल्छौ । किनकी आज स्वतन्त्र उम्मेदवार भएपनि वाग्ले कांग्रेसको पूर्व नेता हो । हाम्रो लागि अरु विकल्प छैन ।’

साहले स्वतन्त्र उम्मेदवार वाग्लेको पक्षमा कांग्रेसका धेरै कार्यकर्ताले साथ दिने बताए । पार्टीको आधिकारिक उम्मेदवार नभएका कारण कांग्रेसका अधिकांश कार्यकर्ता यतिबेला स्वतन्त्र उम्मेदवारको पक्षमा खुलेर उभिएको साहले बताए ।

साहजस्तै फेटाका धिरेन्द्र महतोको भनाई पनि उस्तै छ । कांग्रेसका कार्यकर्ताका लागि अहिलेको निर्वाचनले कुनै रौनकता नल्याएको बताए । यसपटक निर्वाचनमा संघ र प्रदेशमा निर्वाचित हुने आशासहित पाँच वर्ष देखि गरेको तयारी चुनावको समयमा औचित्यविहिन बन्न पुगेको महतोले बताए ।

‘यही चुनावका लागि हामीले तयारी गर्यौ । अघिल्लो पटक पनि हारेको हुँदा यो पटक जित्नैपर्ने बाध्यता थियो’ महतोले भने ‘तर दुर्भाग्य यो पटक त टिकट पाउन समेत लायक बनेन पार्टी । अघिल्लो पटकको मतपरिणामको कारण पनि यस्तो भएको हो । त्यसैले यो पटक अरु पार्टीलाई होईन स्वतन्त्रलाई जिताउनेछौ । ’ महतोले यस पटक कांग्रेसको अधिकांश कार्यकर्ताको भोट स्वतन्त्र उम्मेदवार वाग्लेको पक्षमा जाने बताए ।

कांग्रेस नेतृत्व तहले गरेको निर्णयप्रति असन्तुष्टी जनाउदै आएका तल्लो तहका कार्यकर्ता निराश देखिन्छन् । गठबन्धनबीच भागबण्डा हुनुअघि केन्द्रीय तहलाई ध्यानाकर्षण गराउदै आएका कांग्रेसका नेताकार्यकता आफूहरुको भावनालाई कांग्रेसको नेतृत्व तहले लत्याएको बताईरहेका छन् ।

‘हामीले केन्द्रमा पटकपटक भनेका थियौ, हामी यो क्षेत्रमा बलियो छौ । एक्लै चुनाव जित्ने हैसियत राख्छौ’ परवानीपुरका सुरज पटेलले भने ‘तर हाम्रो मागलाई वास्ता गरिएन् । अहिलेको जुन निर्णय भयो यो कांग्रेसका कार्यकर्ताको भावना विपरित छ । त्यसैले हामी यो गठबन्धनको पक्षमा छैनौ । ’

पटेलले कांग्रेस कार्यकर्ताको भावनालाई वेवास्था गरिएकै कारण कांग्रेसमा लामो समय राजनीति गरेका वाग्लेले स्वतन्त्र उम्मेदवारी दिनुपरेको बताए । कांग्रेसको अस्तित्व जोगाउनका लागि स्वतन्त्रको उदय भएकोे भन्दै पटेलले वाग्लेको पक्षमा मतदान गर्न अपिल गरेका छन् ।

गठबन्धनको निर्णयप्रति असन्तुष्टी जनाउदै आएका कांग्रेसका कार्यकर्ता पछिल्लो समय खुलेरै स्वतन्त्र उम्मेदवार वाग्लेको पक्षमा लागेका छन् । नेपाली कांग्रेस जीतपुरसिमराका नगर कमिटीका पूर्वसचिव सुशिल ढोडारीले कांग्रेसको अधिकांश नेताकार्यकर्ताले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरिरहेको बताए ।

‘हामीले कहिलेसम्म अरुको ठेक्का लिने ? हामीले अरुलाई जिताउने अनि अरुले हामीलाई चै जिताउन नपर्ने’ ढोडारीले भने ‘कांग्रेसको बुईं बढेर माथी पुग्ने अनि कांग्रेसलाई सक्काउदै जाने परिपाटी यो पटक अन्त्य हुनुपर्छ ।’ ढोडारीले कांग्रेसलाई सिध्याउने खेल भएका कारण यो पटक विद्रोह गरेर स्वतन्त्रको पक्षमा लागेको बताए ।

स्वतन्त्र उम्मेदवार वाग्लेको पक्षमा यतिबेला बारा क्षेत्र नं. ४ का अधिकांश नेताकायकर्ता समर्थनमा देखिन्छन् । उत्तरी क्षेत्रको तीन नम्बर पुल, अमलेखगंज देखी दक्षिणतर्फ फेटा, बिश्रामपुरसम्मका नेता कार्यकर्ताले स्वतन्त्र उम्मेदवार वाग्लेलाई समर्थन गरिरहेका छन् ।

कांग्रेसका नेता कार्यकर्तासहित स्वतन्त्र नागरिकको समर्थन पाएका वाग्ले भने यतिबेला उत्साहित देखिएका छन् । कांग्रेससहितको समर्थनमा पाएपछि उत्साहित देखिएका वाग्ले आफू निर्वाचित हुनेमा विश्वस्त देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्