स्वतन्त्र उम्मेदवार वाग्ले अगाडी, गठबन्धन पछ्याउदै


eShilalekh

१ मंसिर २०७९, बिहीबार २२:३१

सिमराः बारा क्षेत्र नं. ४ मा स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्ले गठबन्धनका उम्मेदवार भन्दा अगाडी देखिएका छन् । नेपाली कांग्रेसका कार्यकर्तासहित स्वतन्त्र नागरिकको समर्थन पाएका वाग्ले गठबन्धनका उम्मेदवार भन्दा अगाडी देखिएका हुन् ।

स्वतन्त्र पदका उम्मेदवार वाग्लेको पक्षमा अहिले बारा क्षेत्र नं. ४ का अधिकांश नेपाली कांग्रेसका कार्यकर्ता देखिएका छन् । त्यसबाहेक स्वतन्त्र नागरिकले वाग्ले जिताउ अभियानमा सहभागिता जनाएका छन् ।

सिमरास्थित होटल इच्छाका संचालक समेत रहेका वाग्ले यतिबेला जनसमर्थनका आधारमा गठबन्धन भन्दा अगाडी देखिन्छन् । कांग्रेसको मत लिएर चुनाव जित्ने दाउमा रहेका गठबन्धनका उम्मेदवार स्वतन्त्र उम्मेदवार भन्दा पछाडी छन् ।

स्थानीय तह निर्वाचन २०७९ को मतपरिणामलाई आधार मान्ने हो भने बारा क्षेत्र नं. ४ मा नेकपा एमाले पहिलो शक्ति हो । एमालेपछि दोस्रो शक्ति कांग्रेस हो । एमालेबाट प्रतिनिधिसभा सदस्य पदमा एकबाल मिया उम्मेदवार भईरहदा कांग्रेसले यो क्षेत्रमा उम्मेदवार पाएन । गठबन्धनको भागबण्डामा यो क्षेत्रको प्रतिनिधिसभा सदस्यको उम्मेदवार जनमतको हिसाबले अत्यन्तै कमजोर पार्टी एकिकृत समाजवादीले प्रात गर्यो ।

एकिकृत समाजवादीले टिकट प्राप्त गरेकै कारण गठबन्धन यो क्षेत्रमा कमजोर देखिन पुग्यो । बलियो शक्तिको रुपमा रहेको कांग्रेसले गठबन्धनका उम्मेदवारलाई समर्थन नगर्ने देखिएको छ ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले यस क्षेत्रको स्थानीय तहमा शुन्य नतिजा प्राप्त गरेका कारण कांग्रेसका उम्मेदवार गठबन्धनको पक्षमा देखिएका छैनन् । गठबन्धनकै कारण कांग्रेसले दिनप्रतिदिन अस्तित्व गुमाउदै गएको नेपाली कांग्रेस जीतपुरसिमरा नगर कमिटीका पूर्वसचिव सुशिल ढोडारीले बताए ।

‘कांग्रेसको अब अस्तित्व के बाँकी छ र ? नेपाली कांग्रेस जनताको पार्टीको हो भन्ने अवस्था कहाँ छ ?’ ढोडारीले भने ‘कुन पालिकामा कांग्रेसका उम्मेदवारले जितेको छ ? कांग्रेसको अस्तित्व सक्काउने काम भएको छ । हामी निराश छौ ।’

ढोडारीले कांग्रेसको अस्तित्व जोगाउनका लागि पनि स्वतन्त्र उम्मेदवारका रुपमा इच्छाबहादुर वाग्लेको पक्षमा समर्थन बढ्दो रहेको बताए । ढोडारीका अनुसार कांग्रेसका कार्यकर्ताले वाग्लेलाई समर्थन गर्दा चुनावी दौडमा वाग्ले अगाडी र गठबन्धनको उम्मेदवार पछाडी रहेको बताए ।

कांग्रेसको समर्थनकै कारण जीतपुरसिमराको मेयर पद जितेको नेकपा माओवादी केन्द्रले मात्रै गठबन्धनका उम्मेदवारलाई जिताउन नसक्ने ढोडारीले बताए । माओवादी आफैमा कमजोर पार्टी रहेको र कांग्रेसकै बलमा मेयर पद जितेका कारण उसले आफ्नो प्रदेशसभाको उम्मेदवार जिताउन कांग्रेसको सहारा लिन खोजेको ढोडारीले बताए ।

‘माओवादीले गठबन्धनको नारा लगाउनुको पछाडी उसको उम्मेदवार प्रदेशसभामा उठेका छन्’ ढोडारीले भने ‘त्यसैले माओवादी सक्रिय भएर लागेको हो । यदि माओवादीको साथ हुन्थ्यो भने हामीले उपमेयर पनि जित्थ्यौ । तर नजिता कांग्रेसको पक्षमा आउन सकेन ।’

कांग्रेसकै कार्यकर्ताको मत लिएर अरु पार्टी ठुलो बन्दै जाने र कांग्रेस खुम्चिदै जाने भएका कारण यसपटक स्वतन्त्र उम्मेदवार वाग्लेको पक्षमा कार्यकर्ता खुलेर लागेको ढोडारीले बताए ।

प्रतिक्रिया दिनुहोस्