मौन अवधीमा किसान श्रेष्ठ र जितेन्द्र सोनलको घरदैलो


eShilalekh

२ मंसिर २०७९, शुक्रबार १२:३०

सिमराः निर्वाचन आचारसंहिता विपरित मौन अवधीको समयमा नेकपा एकिकृत समाजवादीका उम्मेदवार किसान श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जितेन्द्र सोनलले घरदैलो गरेका छन् ।

मौन अवधीको उलंघन गर्दै बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रेष्ठ र प्रदेशसभा ४(२) का उम्मेदवार सोनलले परवानीपुर गाँउपालिका ३ लिपनीमालमा शुक्रवार बिहान कार्यकर्तासहित घरदैलो गरेका हुन् ।

मंसिर ४ गतेको निर्वाचनका लागि विहिवार राती १२ बजेदेखी मौन अवधी सुरु भएको छ । निर्वाचन सम्पन्न नहुँदासम्मका लागि लागु हुने मौन अवधीको समयमा उम्मेदवार र दलले चुनावी प्रचारप्रसार गर्न पाउने छैनन् । तर निर्वाचन आयोगको आचारसंहितालाई उलंघन गर्दै श्रेष्ठ र सोनलले उक्त क्षेत्रमा घरदैलो गरिरहेका छन् ।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घरदैलो र चुनावी प्रचार भईरहेको सूचना प्राप्त भएपछि नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको बताए । चुनावी प्रचार गरिरहेका उम्मेदवारलाई फोन गरेर उक्त कार्य तत्काल रोक्न आग्रह गरेको र नरोकिए आचारसंहिता विपरित कारवाही प्रक्रिया अघि बढाईने जानकारी समेत गराएको प्रहरी उपरीक्षक बोगटीले बताए ।

प्रहरी उपरीक्षक बोगटीले निर्वाचन आचारसंहिता उलंघनका घटना हेर्ने र आचारसंहिता विपरितको कार्य गर्ने उम्मेदवारलाई कारवाही गर्ने निकायको अधिकृतलाई समेत परिचालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्