बारा १ को गणना रोकियो, मुचुल्कामा हस्ताक्षर गर्ने विषयमा विवाद


eShilalekh

७ मंसिर २०७९, बुधबार १७:२३

सिमराः बारा क्षेत्र नं. १ को मतगणना रोकिएको छ । मतपेटिका खोल्नुअघि मुचुल्कामा हस्ताक्षर गर्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो ।

मतपेटिका खोल्ने क्रममा नेपाली कांग्रेसका प्रतिनिधि परिवर्तन भएको र परिवर्तन भएका प्रतिनिधिले मुचुल्कामा हस्ताक्षर गर्ने नमानेपछि गणना रोकिएको हो । मतगणना सुचारु गर्ने विषयमा छलफल भईरहेको छ ।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले कांग्रेसका प्रतिनिधि बाहिर निस्किएका कारण मतगणना रोकिएको र तत्कालै सुचारु गर्ने गरी आफूले सहजीकरण गरिरहेको बताए ।

मुचुल्कामा हस्ताक्षर गर्ने विषयमा विवाद भईरहदा मतगणना स्थल बाहिर भने नेपाली कांग्रेसका कार्यकर्ताले नाराबाजी गर्न थालेका छन् । कांग्रेसका कार्यकर्ताले नाराबाजी गर्न थालेपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बारा १ को हालसम्म भएको मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली २४ हजार पाँच सय २४ मतसहित अग्र स्थानमा छन भने कांग्रेसका उम्मेदवार उमाकान्त चौधरी १९ हजार ६ सय ३१ मतसहित दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्