बारा क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा ज्वाला साह निर्वाचित


eShilalekh

९ मंसिर २०७९, शुक्रबार ०२:१०

सिमराः बारा क्षेत्र नं. ३ बाट प्रतिनिसिसभा सदस्यमा नेकपा एमालेकी उम्मेदवार ज्वालाकुमार साह निर्वाचित भएकी छिन् । एमाले पोलिटव्युरो सदस्य समेत रहेकी साह दुई हजार नौ सय ८२ मतको फराकिलो मतान्तरले निर्वाचित भएकी हुन् ।

पूर्वमन्त्री समेत रहेकी साहले २० हजार दुई सय ५१ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्धन्द्धी रामबाबु कुमार यादवले १७ हजार दुई सय ६९ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश अध्यक्ष समेत रहेका यादव २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित सांसद हुन् । यादवलाई पराजित गरेकी साह भने २०७४ सालको निर्वाचनमा ३(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिईन् ।

यस क्षेत्रमा गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार लालबाबु सिंहले ११ हजार नौ सय ६४ मत प्राप्त गरेका छन् । त्रिपक्षीय भिडन्तमा साहले जित हासिल गरेकी हुन् ।

साह बाराबाट निर्वाचित हुने एक मात्रै महिला सांसद हुन् । मधेस प्रदेशको सबै जिल्ला र क्षेत्रमा तालमेल गरेको एमालेले बारा ३ मा भने जसपासंग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गर्दै साहलाई उम्मेदवार बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्