मैनाली र साह प्रतिनिधिसभामा निर्वाचित


eShilalekh

९ मंसिर २०७९, शुक्रबार ०९:५८

सिमराः नेकपा एमालेका दुई पोलिटव्युरो सदस्य अच्युत मैनाली र ज्वालाकुमारी साह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मैनाली बारा १ र साह बारा ३ बाट निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभामा निर्वाचित हुने क्रममा मैनालीले नेपाल सरकारका खानेपानी मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई ९ हजार एक सय ३९ मतले पराजित गरे ।

मैनालीले ३९ हजार एक सय ९५ मत प्राप्त गर्दा चौधरीले ३० हजार ५६ मत पाएका छन् । २०७४ सालको निर्वाचनमा चौधरीसंग दुई हजार चार सय २० मतले पराजित भएका मैनालीले यसपटक फराकिलो जित निकालेका हुन् ।

यता बारा ३ मा पूर्वमन्त्री समेत रहेकी साहले जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवलाई दुई हजार नौ सय ८२ मतले पराजित गरिन् । साहले २० हजार दुई सय ५१ मत प्राप्त गर्दा यादवले १७ हजार दुई सय ६९ मत पाएका छन् ।

एमाले र जसपाबीच प्रदेशका सबै जिल्ला र क्षेत्रमा तालमेल भएपनि बारा ३ भने मित्रवत् प्रतिस्पर्धा थियो । मित्रवत् प्रतिस्पर्धाका क्रममा एमालेकी साहले यादव २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका सांसद यादवलाई पराजित गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्