बाराको १० स्थानको परिणाम आउँदा एमाले पाँच स्थानमा बिजयी


eShilalekh

९ मंसिर २०७९, शुक्रबार १३:४७

सिमराः बाराको चार वटा निर्वाचन क्षेत्र अन्तर्गत तीन प्रतिनिधिसभा र सात प्रदेशसभाको नतिजा आईसकेको छ । १० वटा निर्वाचन क्षेत्रको परिणाम आउँदा नेकपा एमालेले पाँच स्थानमा जित हात पारेको छ ।

एमालेले दुई प्रतिनिधिसभा र तीन प्रदेशसभामा बिजय प्राप्त गरेको छ । बारा क्षेत्र नं. १ मा एमालेका पोलिटव्युरो सदस्य अच्युत मैनाली र बारा क्षेत्र नं. ३ मा अर्की पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह निर्वाचित भएकी छिन् ।

मैनालीले नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई नौ हजार एक सय ३९ मतको मतान्तरले पराजित गरेका हुन् । मैनालीले ३९ हजार एक सय ९५ मत प्राप्त गर्दा चौधरीले ३० हजार ५६ मत पाएका छन् ।

यसैगरी बारा क्षेत्र नं. ३ मा पूर्वमन्त्री समेत रहेकी साहले जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवलाई दुई हजार नौ सय ८२ मतको मतान्तरले पराजित गरिन् । साहले २० हजार दुई सय ५१ मत पाएर निर्वाचित हुँदा जसपा मधेस प्रदेश अध्यक्ष समेत रहेका यादवले १७ हजार दुई सय ६९ मत पाएका छन् ।

प्रदेशसभातर्फ बारा क्षेत्र नं. ४(१) मा देवनारायण चौधरी तीन हजार ६ सय १९ मतको मतान्तरले निर्वाचित भए । चौधरीले १३ हजार ६ सय ८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले नौ हजार नौ सय उनानब्बे मत पाएका छन् ।

यसैगरी प्रदेशसभा ३(१) मा एमालेका रविन्द्रदास श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले माओवादी केन्द्रका मुकेश साहलाई आठ सय ८६ मतले पराजित गरेका हुन् । श्रेष्ठले आठ हजार एक सय ९५ मत प्राप्त गर्दा साहले सात हजार तीन सय नौ मत पाएका छन् ।

बाराको प्रदेशसभामा तेस्रो जित निकाल्ले क्रममा क्षेत्र नं. १(१) मा एमालेका त्रिलोकी चौधरी निर्वाचित भए । उनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा चौधरी निर्वाचित भएका थिए ।

दोस्रो पटक प्रदेशसभा निर्वाचित हुने क्रममा चौधरीले १६ हजार सात सय ९८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रमेश दंगालले १४ हजार दुई सय ७० मत पाएका छन् । चौधरी दुई हजार पाँच सय २८ मतको मतान्तरले निर्वाचित भएका हुन् ।

बारामा अब एमाले उम्मेदवार रहेको एउटा प्रदेश निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ । बारा क्षेत्र नं. ३(२) को परिणाम आउन बाँकी रहेको हो । उक्त निर्वाचन क्षेत्रमा पनि एमालेका उम्मेदवार महम्मद समिर अग्र स्थानमा छ ।

एमालेले बाराको चार प्रतिनिधिसभा र आठ प्रदेशसभामध्ये सात स्थानमा उम्मेदवारी दिएको थियो । जसमध्ये दुई स्थानमा पराजय व्यहोरेको छ । बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभामा पूर्वमन्त्री एकबाल मिया र क्षेत्र नं. २(१) को प्रदेशसभामा बलबिर चौधरी पराजित भएका छन् ।

जसपासंग चुनावी तालमेल गरेको एमालेले बारा क्षेत्र नं. २, क्षेत्र नं. २(२), क्षेत्र नं. १(२) र क्षेत्र नं. ४(२) मा उम्मेदवारी दिएको थिएन् । उक्त क्षेत्रमा जसपाका उम्मेदवारले निर्वाचन लडेका थिए । जसपाका उम्मेदवारमध्ये १(२) मा सरोज यादव, २(२ मा बच्चा राउत अहिर निर्वाचित भईसकेका छन् भने ४(२) मा आत्माराम साह पराजित भएका छन् ।

बारा क्षेत्र नं. २ को मतगणना जारी छ । उक्त निर्वाचन क्षेत्रको पछिल्लो मतपरिणाम अनुसार जसपाका उम्मेदवार रामसहाय यादव दोस्रो स्थानमा छन् । उक्त क्षेत्रमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवचन्द्र कुशवाहाले अग्रता लिईरहेका छन् ।

जिल्लाको अन्य सबै क्षेत्रमा तालमेल गरेको एमाले र जसपाले बारा बारा क्षेत्र नं. ३ मा भने मित्रवत प्रतिस्पर्धा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्