कुशवाहाको अग्रता उल्टाउदै बारा २ मा यादव निर्वाचित, बारामा कांग्रेस र माओवादी ‘निल’


eShilalekh

१० मंसिर २०७९, शनिबार ०३:१६

सिमराः बारा क्षेत्र नं. २ को प्रतिनिधिसभा सभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहाय यादव निर्वाचित भएका छन् । यादव तीन सय ५४ मतको मतान्तरले निर्वाचित भएका हुन् ।

यादवले १३ हजार आठ सय २२ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले १३ हजार चार सय ६८ मत प्राप्त गरेका छन् ।

यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा पनि यादव संघीय समाजवादी फोरम (हाल जसपा) बाट निर्वाचित भएका थिए । पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले मतगणनाको अन्तिम समयमा माओवादी केन्द्रका उम्मेदवार कुशवाहाको अग्रता उल्टाउदै जित हात पारेका हुन् ।

यादवले जितेसंगै बाराको चार वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । चार निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई वटामा नेकपा एमाले, एकमा जसपा र एकमा नेकपा एकिकृत समाजवादी बिजयी भएको छ ।

यसैगरी आठ प्रदेशसभामध्ये चार वटामा एमाले र दुई वटामा जसपा जित निकाल्दा लोसपा र स्वतन्त्रले एक/एक क्षेत्रमा बिजय प्राप्त गरेका छन् ।

प्रतिनिधिसभातर्फ बारा क्षेत्र नं. १ र ३ मा एमाले, क्षेत्र नं. २ मा जसपा र क्षेत्र नं. ३ ४ मा एकिकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् । यसैगरी प्रदेशसभातर्फ १(१), ३(१), ३(२) र ४(२) मा एमालेका उम्मेदवार बिजयी भएका छन् ।

एमालेसंग चुनावी तालमेल गरेको जसपाले १(२) र २(२) को प्रदेशसभामा जित हात पारेको छ । एमाले र जसपाले बाराको चारमध्ये तीन वटा निर्वाचन क्षेत्रमा तालमेल गरेको थियो भने एउटामा मित्रवत प्रतिस्पर्धा गरेको थियो ।

एमाले र जसपाबाहेक प्रदेशसभातर्फ लोकतान्त्रिक समाजवादी पार्टीले क्षेत्र नं. ४(२) मा जित हात पारेको छ भने क्षेत्र नं. २(१) मा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार बारामा एमाले ठुलो दल बनेको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको १२ सिटमध्ये एमालेले ६ सिटमा जित हात पारेको छ भने जसपाले तीन, लोसपा र स्वतन्त्रले एक/एक सिट जितेका छन् ।

बारामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र शुन्य देखिएको छ । सत्तारुढ गठबन्धनबाट बाराको ४(२) मा लोसपाका जितेन्द्र सोनल निर्वाचित हुँदा अन्य सबै उम्मेदवार पराजित हुन पुगेका छन् ।

यी हुन् बाराबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित उम्मेदवारः

बारा क्षेत्र नं. १

प्रतिनिधिसभा: अच्युत मैनाली (नेकपा एमाले)
प्रदेशसभा १(१): त्रिलोकी चौधरी (नेकपा एमाले)
प्रदेशसभा १(२): सरोज कुमार यादव (जसपा)

बारा क्षेत्र नं. २

प्रतिनिधिसभा: रामसहाय यादव (जसपा)
प्रदेशसभा २(१) : सारदा संकर कलवार (स्वतन्त्र)
प्रदेशसभा २(२): बच्चा राउत अहिर (जसपा)

बारा क्षेत्र नं. ३

प्रतिनिधिसभा: ज्वालाकुमारी साह (नेकपा एमाले)
प्रदेशसभा ३(१): रविन्द्रदास श्रेष्ठ (नेकपा एमाले)
प्रदेशसभा ३(२): महम्मद समिर (नेकपा एमाले)

बारा क्षेत्र नं. ४

प्रतिनिधिसभा: कृष्णकुमार श्रेष्ठ (एकिकृत समाजवादी)
प्रदेशसभा ४(१): देवनारायण चौधरी (नेकपा एमाले)
प्रदेशसभा ४(२): जितेन्द्र सोनल (लोसपा)

प्रतिक्रिया दिनुहोस्