जसले जोगाउन सकेनन् विरासत..


eShilalekh

१० मंसिर २०७९, शनिबार १३:२०

सिमराः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मंसिर ४ गते भएको प्रत्यक्षतर्फको निर्वाचनको अन्तिम मतपरिणाम आईसकेको छ । बाराको चार निर्वाचन क्षेत्रमध्ये दुई सिटमा नेकपा एमाले जित्दा नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले एक/एक सिट जितेका छन् ।

प्रदेशसभातर्फको नजितामा पनि एमाले अगाडी देखिएको छ । आठ प्रदेशसभा मध्ये चार सिटमा एमाले, दुई सिटमा जसपा, एक सिटमा लोसपा र एक सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

२०७४ सालको निर्वाचनमा प्रदेशसभातर्फ दुई सिट मात्रै जितेको एमालेले यसपटक १२ सिटमध्ये ६ सिट हात पारेको छ । एमालेले उत्साहजनक नतिजा ल्याउदै गर्दा अघिल्लो पटक बाराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदले आफ्नो विरासत जोगाउन भने सकेनन् ।

प्रतिनिधिसभातर्फ बाराको चार वटै निर्वाचन क्षेत्रमा २०७४ सालमा निर्वाचित सबै सांसद यसपटक पनि उम्मेदवार रहेका थिए । बारा १ मा नेपाली कांग्रेसबाट उमाकान्त चौधरी, बारा २ मा जसपाबाट रामसहाय यादव, बारा ३ मा जसपाबाट रामबाबुकुमार यादव र बारा ४ मा नेकपा एमालेबाट एकवाल मियाँ दोहोरिएर उम्मेदवार बनेका थिए ।

जसमध्ये बारा २ का उम्मेदवार यादव मात्रै निर्वाचित भए । दोहोरिएर आएका अन्य तीन उम्मेदवार आफ्नो बिरासत जोगाउन असफल देखिए ।

बारा १ मा नेपाल सरकारका खानेपानी मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री चौधरी फराकिलो मतान्तरले पराजित भए । अघिल्लो पटकको निर्वाचनमा बिजय प्राप्त गर्दा प्रतिस्पर्धी रहेका अच्युत मैनालीसंग यसपटक उनले हार व्यहोरे ।

एमाले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज मैनालीसंग नौ हजार एक सय ३९ मतको फराकिलो मतान्तरले चौधरी पराजित भएका छन् । मैनालीले ३९ हजार एक सय ९५ मत प्राप्त गर्दा चौधरीले तीस हजार ५६ मत पाएका छन् ।

बारा क्षेत्र नं. ३ मा तत्कालिन संघीय समाजवादी फोरम (हाल जसपा) बाट निर्वाचित भएका यादव यसपटक पराजित भए । नेकपा एमालेका उम्मेदवार अध्यानन्द पाण्डेलाई पराजित गरेका यादव यसपटक एमाले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज साहसंग यादव दुई हजार नौ सय ८२ मतले पराजित भए ।

बाराबाट प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने एक मात्रै महिलाको रुपमा निर्वाचित हुने क्रममा साहले २० हजार दुई सय ५२ मत प्राप्त गरिन् । जसपाका यादवले भने १७ हजार दुई सय ६९ मत पाएका छन् ।

२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट बारा ३(१) को प्रदेशसभा सदस्यमा निर्वाचित भएकी साह नेकपा विभाजनपछि एमालेमै बसेकी थिइन् । साहले एमाले रोजेपछि माओवादी केन्द्रले उनलाई प्रदेशसभा सदस्यबाट हटाएको थियो । प्रदेशसभा सदस्य पद त्यागेर एमालेसंगको यात्रा अघि बढाएकी साह यसबीचमा मन्त्री समेत बनेकी थिईन् ।

बारा क्षेत्र नं. ४ मा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (हाल लोसपा) बाट निर्वाचित भएका एकवाल मियाँ यसपटक एमालेबाट उम्मेदवार रहेका थिए । उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन लोसपा त्यागेर एमाले प्रवेश गरेका मियाँले प्रतिनिधिसभा सदस्यको टिकट पाएका थिए ।

२०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार देवनारायण चौधरीलाई पराजित गर्दै सांसद बनेका मियाँ यसपटक भने फराकिलो मतले पराजित भए । उनलाई नेकपा एकिकृत समाजवादीका कृष्णकुमार (किसान) श्रेष्ठले पराजित गरे । अघिल्लो निर्वाचनमा तनहुँ १ बाट निर्वाचित सांसद श्रेष्ठ यसपटक बारा आएका थिए । मियाँ र श्रेष्ठ दुवै पूर्वमन्त्री हुन् ।

श्रेष्ठले मियालाई नौ हजार नौ सय ८१ मतले पराजित गरेका हुन् । श्रेष्ठले तीस हजार दुई सय ५६ मत प्राप्त गर्दा मियाँले २० हजार दुई सय ७५ मत प्राप्त गरे । फराकिलो मतान्तरले पराजित भएका मियाँले पनि यस क्षेत्रमा आफ्नो विरासत जोगाउन असफल देखिए ।

प्रतिक्रिया दिनुहोस्