बारा ४ः समानुपातिकमा एमाले पहिलो, लोसपा दोस्रो (हेर्नुस् कसले पाए कति मत?)


eShilalekh

११ मंसिर २०७९, आईतवार १३:२२

सिमराः बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा र प्रदेशतर्फको समानुपातिकमा नेकपा एमालेले बढी मत प्राप्त गरेको छ । समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा एमाले बढी मत प्राप्त गर्ने दल बनेको हो ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले बारा क्षेत्र नं. ४ बाट १४ हजार सात सय ७८ मत प्राप्त गरेको छ । एमालेपछि दोस्रो स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रतिनिधिसभाको समानुपातिकमा १० हजार नौ सय ११ मत पाएको छ ।

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ६ हजार पाँच सय ६१ र चौथो स्थानमा रहेको कांग्रेसले ६ हजार चार सय ७२ मत पाएको छ । बारा ४ मा रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पाचौं स्थानमा देखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ६ हजार दुई सय ५६ मत पाएको छ । यसैगरी छैठौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच हजार ६ सय ६२, सातौं स्थानमा रहेको जनता समाजवादी पार्टी नेपालले चार हजार आठ सय ५८ मत पाएको छ ।

बारमा माधवकुमार नेपाल नेतृत्वको एकिकृत नेकपा समाजवादी आठौं स्थानमा देखिएको छ । बारा ४ को प्रतिनिधिसभा सदस्य पदमा प्रत्यक्षतर्फ जित हासिल गरेको समाजवादीले समानुपातिकमा चार हजार ६ सय ९१ मत पाएको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टी नवौं स्थानमा देखिएको छ । जनमत पार्टीले तीन हजार दुई सय एक मत पाएको छ भने दसौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले एक हजार एक सय ३८ मत पाएको छ ।

प्रतिनिधिसभातर्फ पहिलो देखिएको एमालेले प्रदेशसभातर्फको समानुपातिकमा पनि बढी मत प्राप्त गरेको छ । प्रदेशसभा ४(१) र ४(१) बाट एमालेले १५ हजार ६ सय २४ मत पाएको छ ।

एमालेपछि दोस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) देखिएको छ । लोसपाले नौ हजार ६ सय ३० मत पाएको छ । लोसपापछि तेस्रो बढी मत पाउनेमा नेकपा एकिकृत समाजवादी पार्टी छ । एकिकृत समाजवादीले सात हजार दुई सय ७२ मत पाएको छ ।

प्रतिनिधिसभातर्फ चौथो देखिएको कांग्रेस प्रदेशसभामा पनि चौथो बढी मत पाउने पार्टी बनेको छ । कांग्रेसले सात हजार दुई सय तीन मत पाएको छ । पाचौं स्थानमा रहेको नेकपा माओवादी केन्द्रले पाँच हजार चार सय ७३ मत पाउदा छैठौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच हजार ५८ मत पाएको छ ।

सातौं स्थानमा रहेको जनता समाजवादी पार्टीले चार हजार तीन सय ९५ मत प्राप्त गर्दा आठौं स्थानमा रहेको जनमत पार्टीले चार हजार २१ मत पाएको छ ।

प्रदेशसभातर्फको समानुपातिकमा हाम्रो नेपाली पार्टीले दुई हजार तीन सय १८ मत प्राप्त गर्दै नवौं स्थानमा देखिएको छ भने दसौं स्थानमा एक हजार दुई ११ मत प्राप्त गरेको नागरिक उन्मुक्ति पार्टी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्