‘श्रमिकको हितमा सामाजिक सुरक्षा कोष’


निलिसा वर्मा

११ मंसिर २०७९, आईतवार १७:५७

सिमराः पाचौं सामाजिक सुरक्षा दिवसको अवसरमा आईतवार सिमरामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक सुरक्षा कोष शाखा कार्यालय सिमराको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय सरकारका प्रमुख, सरोकारवाला निजि क्षेत्रका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, श्रमिक संघसंगठनका प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमका सहभागीले निजि क्षेत्रका श्रमिकको हितका लागि स्थापना भएको कोषको भूमिका र कार्ययोजनाको विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले औद्योगिक करिडोरमा स्थापित कोषको भूमिका यस क्षेत्रका श्रमिकका लागि महत्वपूर्ण हुने बताए । पौडेलले श्रमिकको सुरक्षा र हितमा आधारित भएर कार्ययोजना अघि ल्याउन कोषलाई सुझाए ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका प्रदेश उपाध्यक्ष लक्ष्मणप्रसाद कुर्मी, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश उपाध्यक्ष कमलेश झा, अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश उपाध्यक्ष अर्जुन चिमरिया, वीरगन्ज उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हरी गौतम, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य, अखिल नेपाल ट्रेड युनियनका प्रदेश उपाध्यक्ष अक्षय कुमार ओझालगायत सहभागी थिए ।

सामाजिक सुरक्षा कोष सिमरा शाखाका प्रमुख ऋषीराम पाण्डेयले सरकारी कर्मचारीका लागि स्थापित संचय कोषजस्तै निजि क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षा कोष स्थापना भएको बताए । भर्खरै स्थापना भएका कारण कोषको भूमिकाको विषयमा बुझ्न केही समय लाग्ने र त्यसपश्चात निजि श्रेत्रका श्रमिक आकर्षित हुने पाण्डेयको भनाई थियो ।

पाण्डेयले श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत रहेको कोषसम्म श्रमिकलाई जोड्नका लागि श्रमिकहरुको नेतृत्व गर्ने संघसंगठन, सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने बताए । पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोकुल थापाले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्