प्रदेशसभामा दुई नयाँ, बाँकी पुरानै अनुहार (को, कहाँ जिते ?)


eShilalekh

११ मंसिर २०७९, आईतवार २२:०७

सिमराः बाराको चार निर्वाचन क्षेत्रबाट प्रदेशसभामा दुई नयाँ अनुहार निर्वाचित हुँदा ६ जना पुरानै दोहोरिएका छन् । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट ६ जना दोस्रो पटक निर्वाचित अनुहार हुन् ।

प्रदेशसभामा दोस्रो पटक निर्वाचित हुनेमा नेकपा एमालेका दुई, जसपाका दुई, लोसपा र स्वतन्त्रका एक-एक जना छन् भने पहिलो पटक प्रदेशसभामा प्रवेश गर्नेमा एमालेका दुई नयाँ अनुहार छन् ।

पहिलो पटक निर्वाचित हुनेमा बारा क्षेत्र नं. ४(१) बाट देवनारायण चौधरी र ३(१) बाट रविन्द्रदास श्रेष्ठ छन् । यसैगरी दोस्रोपटक बिजय प्राप्त गर्नेमा ४(२) बाट जितेन्द्र सोनल, ३(२) बाट महम्मद समिर, २(१) बाट सारदा संकर कलवार, २(२) बाट बच्चा राउत अहिर, १(१) बाट त्रिलोकी चौधरी र १(२) बाट सरोजकुमार यादव छन् ।

सरोजकुमार यादव (जसपा)

बारा क्षेत्र नं. १(२) बाट दोस्रो पटक निर्वाचित सरोजकुमार यादव मधेस प्रदेशसभाका निवर्तमान सभामुख हुन् । उनि २०७४ सालको निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (हाल लोसपा) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

२०७४ सालमा तत्कालिन संघीय समाजवादी फोरम (हाल जसपा) र तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबीचको चुनावी तालमेल भएको थियो । दुई मधेसवादी दलबीचको चुनावी तालमेलबाट जित निकाल्ने क्रममा यादवले १४ हजार दुई सय ६९ मत प्राप्त गरेका थिए ।

प्रदेशसभामा निर्वाचित भएपछि फोरमले मुख्यमन्त्री र राजपाले सभामुख लिएको थियो । सोही क्रममा यादव राजपाबाट सभामुख बनेका थिए ।

अघिल्लो चुनावमा राजपाबाट जित निकालेका यादव यसपटक जसपा प्रवेश गर्दै टिकट लिएका थिए । दोस्रो पटक निर्वाचित हुने क्रममा १५ हजार नौ सय २७ मत प्राप्त गरेका छन् ।

जितेन्द्र सोनल (लोसपा)

बारा क्षेत्र नं. ४(२) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित जितेन्द्र सोनल मधेस प्रदेशको पूर्व भौतिक पूर्वाधार मन्त्री हुन् । पूर्वमन्त्री सोनल लोसपा नेपालबाट दोस्रो पटक निर्वाचित हुने क्रममा १३ हजार पाँच सय ९६ मत प्राप्त गरेका छन् ।

यसअघि २०७४ सालमा तत्कालिन राष्ट्रिय जनता पार्टी (हाल लोसपा) बाट उनि १३ हजार एक सय १८ मत प्राप्त गर्दै निर्वाचित भएका थिए । राजपाबाट प्रदेशसभामा निर्वाचित भएका सोनल प्रदेशको भौतिक पूर्वाधार मन्त्री बनेका थिए ।

केन्द्रीय राजनीतिमा सहकार्य गर्दै आएका जसपा र लोसपाबीच विवाद भएपछि उनको मन्त्री पद खोसिएको थियो । प्रदेशसभामा ठुलो दल रहेको जसपाले नेपाली कांग्रेससंग मिलेर प्रदेशमा सरकार बनाएपछि मुख्यमन्त्री लालबाबु राउतले सोनललाई मन्त्रीबाट हटाएका थिए ।

लोसपाको संसदीय दलका नेता र मधेस प्रदेशका अध्यक्ष समेत रहेका सोनल २०६४ सालको संविधान सभा निर्वाचनमा बारा क्षेत्र नं. ४ बाट संविधान सभा सदस्य पदमा निर्वाचित भएका थिए ।

महम्मद समिर (एमाले)

नेकपा एमालेका केन्द्रीय सदस्य महम्मद समिर बारा ३(२) बाट दोस्रो पटक प्रदेशभामा प्रतिनिधित्व गर्दैछन् । प्रत्यक्ष निर्वाचनबाट चुनिएर प्रदेशसभामा दोहोरिने क्रममा समिरले आठ हजार तीन सय २३ मत प्राप्त गरेका छन् ।

यसअघि २०७४ सालमा नेकपा माओवादी केन्द्रको समानुपातिक सूचिबाट उनि प्रदेशसभा पुगेका थिए । माओवादी केन्द्रले उनलाई समानुपातिक सांसद बनाएको थियो ।

माओवादी केन्द्र र एमालेबीचको एकता टुटेपछि समिर एमालेमै बसेका थिए । एमाले रोजेर बसेका उनलाई माओवादी केन्द्रले प्रदेशसभा सदस्यबाट निलम्बन गरेको थियो । प्रदेशसभा जस्तो पद त्यागेर एमालेमै बसेका समिर प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएर दोस्रो पटक प्रदेशसभामा पुगेका हुन्

बच्चा राउत अहिर (जसपा)

बारा क्षेत्र नं. २(२) बाट जनता समाजवादी पार्टी नेपालका बच्चा राउत अहिर दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका छन् । दोस्रो पटक निर्वाचित हुने क्रममा राउतले १० हजार तीन सय दुई मत प्राप्त गरेका छन् ।

यसअघि २०७४ राउत तत्कालिन संघीय समाजवादी फोरम (हाल जसपा) बाट निर्वाचित भएका थिए । उक्त निर्वाचनमा राउतले ११ हजार पाँच सय तीन मत प्राप्त गरेका थिए ।

पहिलो पटक नेपाली कांग्रेसका मणिभुषण कुमार यादवलाई पराजित गरेका राउतले यसपटक कांग्रेसकै रामअयोध्या प्रसाद यादवलाई पराजित गरेका हुन् । राउतले पराजित गरेका कांग्रेसका यादव संविधान सभाका सदस्य हुन् ।

सारदा संकर कलवार (स्वतन्त्र)

बारा क्षेत्र नं. २(१) बाट सारदा संकर कलवार स्वतन्त्र उम्मेदवारी दिदै दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका छन् । २०७४ सालमा संघीय समाजवादी फोरमबाट (हाल जसपा) बाट १६ हजार ६ सय ७१ मत प्राप्त गर्दै निर्वाचित भएका कलवारले यसपटक स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुने क्रममा कलवारले नौ हजार दुई सय ९५ मत प्राप्त गरेका छन् । उनले एमालेका बलबीर चौधरीलाई पराजित गरेका हुन् ।

एमाले र जसपाबीचको तालेमलमा उक्त क्षेत्र एमालेको भागमा परेपछि कलवारले असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

त्रिलोकी चौधरी (एमाले)

बारा क्षेत्र नं. १(१) बाट नेकपा एमालेका त्रिलोकी चौधरी दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका छन् । दोस्रो पटक निर्वाचित हुने क्रममा १६ हजार सात सय ९८ मत प्राप्त गरेका छन् ।

उनले नेपाली कांग्रेसका रमेश दंगाललाई पराजित गरेका हुन् । दंगालले १४ हजार दुई सय ७० मत पाएका थिए ।

यसअघि २०७४ सालमा पहिलो पटक निर्वाचित चौधरीले १८ हजार चार सय ४५ मत पाएका थिए । उक्त निर्वाचनमा चौधरीले कांग्रेसका पेमासिद्धी लामालाई पराजित गरेका थिए ।

देवनारायण चौधरी (एमाले)

बारा क्षेत्र नं. ४(१) बाट निर्वाचित हुँदै नेकपा एमालेका देवनारायण चौधरी पहिलो पटक प्रदेशसभामा प्रतिनिधित्व गर्दैछन् । प्रदेशसभामा निर्वाचित हुने क्रममा चौधरीले १३ हजार ६ सय ३२ मत पाएका छन् ।

उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले १० हजार १७ मत पाएका थिए ।

प्रदेशसभामा निर्वाचित चौधरी एमालेको मधेस प्रदेश कमिटी सदस्य र पूर्व जिल्ला अध्यक्ष हुन् । यसअघि उनि २०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा भवानीपुर जीतपुर गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।

२०७४ सालको निर्वाचनमा बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभामा उम्मेदवार भई पराजित भएका चौधरीलाई यसपटक एमालेले प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको थियो ।

रविन्द्रदास श्रेष्ठ (एमाले)

बारा क्षेत्र नं. ३(१) बाट प्रदेशसभामा पहिलो पटक निर्वाचित भएका हुन् एमालेका रविन्द्रदास श्रेष्ठ । पहिलो पटक निर्वाचित हुने क्रममा श्रेष्ठले आठ हजार एक सय ९५ मत पाएका थिए ।

उनले नेकपा माओवादी केन्द्रका मुकेश साहलाई पराजित गरेका हुन् । साहले सात हजार तीन सय नौ मत पाएका थिए ।

पहिलो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका श्रेष्ठ कलैया नगरपालिका (हाल उपमहानगरपालिका) को पुर्व नगर प्रमुख हुन् । उनि २०५४ सालको निर्वाचनमा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्