कलैया उपमहानगरपालिकाको ग्रेडर र ट्रयाक्टरको ब्याट्री चोरी


eShilalekh

१९ मंसिर २०७९, सोमबार १०:०१

कलैयाः सिचाइ कार्यालय परिसरबाट आइतवार राती कलैया उपमहानगरपालिकाको ग्रेडर र ट्रयाक्टरको ब्याट्री चोरी भएको छ । रात्री समयमा पार्किङ गरेर राखिएको एटटा ग्रेडर र पाँच वटा ट्रयाक्टरको ब्याट्री चोरी भएको हो ।

कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहका अनुसार ग्रेडरको एक सय ५० एम्पीयरको दुई वटा र ट्रयाक्टरको एक सय एम्पीयरको पाँच वटा ब्याट्री चोरी भएको हो । उपमहानगरपालिकाले पछिल्लो एक महिनादेखी कलैया ५ स्थित सिचाइ कार्यालय परिसरमा गाडी राख्दै आएको थियो ।

सिचाइ कार्यालयको उक्त भवनमा कलैयास्थित अस्थायी ट्राफिक पोष्टमा कार्यरत सात जना ट्राफिक प्रहरी र कलैया उपमहानगरपालिकाका चार जना कर्मचारीहरु बस्दै आएका थिए । ट्राफिक प्रहरी र कर्मचारी बस्दै आएको कार्यालय परिसरबाट ब्याट्री चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले ब्याट्री चोरी भएको घटनाको सम्बन्धमा अनुसन्धान सुरु भएको र क्राइम टोली परिचालन गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्