सांसदले गरे कलैया अस्पतालको अनुगमन, सेवामा सुधार ल्याउन निर्देशन


eShilalekh

१९ मंसिर २०७९, सोमबार ११:२१

कलैयाः बारा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदले कलैया अस्पतालको अनुगमन गरेका छन् । अस्पतालको सेवा प्रभावकारी नभएको भन्दै गुनासो बढेपछि प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी साहको नेतृत्वमा सांसदको टोलीले अनुगमन गरेको हो ।

अनुगमन गर्न प्रतिनिधिसभा सदस्यमा निर्वाचित साहसहित ३(१) का प्रदेशसभा सदस्य रविन्द्रदास श्रेष्ठ र ३(२) का प्रदेशसभा सदस्य महम्मद समिरको टोली अस्पताल पुगेका थिए । टोलीले अस्पतालको आकस्मिक, ओपिडी, प्रसुती, एक्सरे र ल्याब कक्षको अनुगमन गर्दै बिरामी र उनका आफन्तसंग अस्पतालको सेवाको विषयमा जानकारी लिएका थिए ।

कलैया अस्पतालमा बिरामीसंग कुरा गर्दै प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी साह ।

अनुगमनको क्रममा अस्पतालको सेवा प्रभावकारी नदेखएिकाले सुधार गर्न निर्देशन दिएको प्रतिनिधिसभा सदस्य साहले बताईन् । नेकपा एमालेको पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री समेत रहेकी साहले स्वास्थ्यजस्तो संवेदनशिल विषयमा लापरवाही गर्ने छुट कसैलाई पनि नभएको बताईन् ।

अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट सुनिल जैसवाललाई अस्पतालको सेवा प्रभावकारी र व्यवस्थित बनाउन साहले निर्देशन दिएकी थिईन् । गैरजिम्मेवारी र लापरवाहीका कारण सरकारी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाप्रति आमनागरिकको विश्वास गुम्दै गएको भन्दै साहले संवेदनशिल विषयमा गम्भिर र जवाफदेही भएर काम गर्न आग्रह गरेकी छिन् ।

कलैया अस्पतालमा बिरामीसंग कुरा गर्दै प्रदेशसभा सदस्य महम्मद समिर ।

प्रदेशसभा सदस्य समिरले अनुगमनका क्रममा देखिएका कमि कमजोरी सच्याउन मेडिकल सुपरीटेण्डेन्ट जैसवाललाई आग्रह गर्दै अस्पतालको सेवा व्यवस्थित बनाउनका लागि आफूहरुको सहयोग रहने बताए ।

कलैया अस्पतालमा बिरामीसंग कुरा गर्दै सांसदको टोली ।

प्रतिक्रिया दिनुहोस्