समानुपातिकमा महामन्त्री मंसुरको सम्भावना कति ? तीन जना भित्र अटाउलान ?


eShilalekh

२२ मंसिर २०७९, बिहीबार २१:४२

सिमराः प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ ५७ सिट जितेर ठुलो दल बनेको नेपाली कांग्रेस समानुपातिकमा दोस्रो स्थानमा छ । कांग्रेसले समानुपातिकमा नेकपा एमालेभन्दा दुई सिट कम अर्थात ३२ सिट प्राप्त गरेको हो ।

प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरेर कांग्रेसले यसपटक ८९ सिटसहित प्रतिनिधिसभामा ठुलो दलको हैसियतले भूमिका निर्वाह गर्नेछ । संघीय संसदमा कांग्रेस ठुलो दल बन्दै गर्दा बारामा भने नजिता शुन्य छ ।

२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ एक सिट जितेको कांग्रेस यसपटक भने शुन्य भएको हो । अघिल्लो पटक निर्वाचित कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी बारा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीसंग पराजित भएका हुन् । खानेपानी मन्त्री समेत रहेका चौधरीले २०७४ सालमा भने मैनालीलाई पराजित गरेका थिए ।

कांग्रेसले बारामा एक प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएको थियो । केन्द्रीय पदाधिकारी रहेका चौधरीसहित प्रदेशसभातर्फ १(१) मा रमेश दंगाल, १(२) मा नागेन्द्र साह कानु, २(२) मा रामअयोध्या यादव र ३(२) मा जयचन्द्र चौरसिया पराजित हुन् ।

सहमहामन्त्री चौधरी पराजित भईरहदा जिल्लामै रहेका अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुुर भने समानुपातिकको बाटोबाट सांसद बन्ने आशमा छन् । प्रत्यक्षतर्फ चुनाव नलडेका मन्सुुर समानुपातिक सूचिमा मुस्लिम क्लस्टरबाट पहिलो नम्बरमा छन् ।

देउवा निकट मन्सुुर पहिलो नम्बरमा भएका कारण सांसद बन्नेमा आशावादी देखिन्छन् । तर समानुपातिकतर्फबाट कुल ३२ सिट प्राप्त गरेको कांग्रेसले २९ जना महिला अनिवार्य पठाउनुपर्ने भएपछि मन्सुुरलाई सकस पर्ने देखिएको छ ।

संघीय संसदमा प्रत्येक दलले ३३ प्रतिशत महिला सहभागिता गराउनुपर्ने हुन्छ । प्रत्यक्षतर्फ निर्वाचित हुने महिलाको संख्या कम भएपछि समानुपातिकबाट ३३ प्रतिशत पुर्याउनुपर्दा कांग्रेसबाट पुरुष सांसद तीन जना मात्रै चुनिने भएका हुन् ।

यता समानुपातिकको लामो सूचीबाट तीन जना मात्रै पुरुष सांसद चयन गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई कठिन हुने देखिएको छ । तीन सिटका लागि वर्तमान र पूर्व केन्द्रीय पदाधिकारीबीच तछाडमछाडको अवस्था छ ।

मन्सुुर मुस्लिम कोटाबाट समानुपातिक सूचीमा एक नम्बरमा हुँदा सांसद बन्ने चर्चामा रहेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत खस आर्यतर्फ, विमलेन्द्र निधि मधेसीतर्फ, पूर्व उपसभापति गोपालमान श्रेष्ठ आदिबासी जनजातीतर्फ, योगेन्द्र चौधरी थारुतर्फ र अर्का सहमहामन्त्री जीवन परियार पनि दलिततर्फ पहिलो नम्बरमा छन् ।

क्लस्टरसंगै अन्य नेतालाई समेत मिलाउनुपर्ने हुँदा सभापति देउवालाई तीन जना चयन गर्न सहज हुने देखिदैन । महत, श्रेष्ठ, मन्सुर र चौधरी संस्थापन निकट छन् । यसैगरी परियार शेखर कोईराला निकटका हुँदा महाधिवेशनमा सभापति बन्न दोस्रो चरणमा सहयोग गरेका कारण निधिलाई पनि समेटनुपर्ने बाध्यता देउवामा छ ।

देउवाले मुस्लिम, थारु र दलित क्लस्टरबाट तीन जना चयन गर्दा बाराका मन्सुर सांसद हुने निश्चित हुनेछ । मन्सुर सांसद बन्दा शुन्य अवस्थामा रहेको कांग्रेसले बारामा एउटा प्रतिनिधि प्राप्त गर्नेछ ।

समानुपातिक सूचीमै रहेकी मधु शाही ठकुरी खस आर्यतर्फको २८औं नम्बरमा छिन् । समानुपातिकबाट २९ जना महिला सबै क्लस्टरबाट मिलाएर चयन गर्नुपर्ने हुँदा ठकुरीको सम्भावना कम देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्