निजगढ मोटरसाईकल दुर्घटनाः मृतक दुवै गुजरा नगरपालिकाका युवा


eShilalekh

४ पुष २०७९, सोमबार १३:०५

सिमराः पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढमा आईतवार राती भएको मोटरसाईकल दुर्घटनामा परी मृत्यु हुने दुवै रौतहटस्थित गुजरा नगरपालिकाका स्थानीय युवा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय निजगढका अनुसार रौतहट गुजरा नगरपालिका ३ सिम्रिक बस्ने २६ वर्षीय भुवन पहाडी र सोही ठाँउका २७ वर्षीय रितबहादुर राईको दुर्घटनामा परी मृत्यु भएको हो ।

उनिहरु दुवैको घटनास्थलमै मृत्यु भएको थियो । मृतकमध्ये पहाडीले मोटरसाईकल चलाएका थिए । तिव्र गतिमा रहेको प्रदेश २ ०३ ००९ प ३९४३ नम्बरको मोटरसाईकल सडक छेउमा रोकिरहेको प्रदेश २ ०३ ००१ख ४२२९ नम्बरको ट्रकको पछाडी ठोक्किन पुगेको थियो ।

मोटरसाईकलमा तीन जना सवार रहेका थिए । तीन जनामध्ये सोही ठाँउका २४ वर्षीय सुशिल माझी घाईते रहेका छन् । उनको भरतपुरस्थित अस्पतालमा उपचार भईरहको छ । निजगढबाट उनलाई थप उपचारका लागि भरतपुर लगिएको हो ।

निजगढ नगरपालिका १ स्थित सडकमा दुर्घटना भएको थियो । बिग्रिएर रोकिरहेको ट्रकमा रौतहटतर्फ जान लागेको मोटरसाईकल पछाडीबाट ठोक्किएको प्रहरीको भनाई छ ।

दुर्घटनामा परी मृत्यु भएकाको शव शल्यपरिक्षणका लागि पठाइएको र चालकसहित ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्