बाराकी ज्वाला साहले लिइन् मन्त्री पदको शपथ, मन्त्रालय पछि तोकिने


eShilalekh

११ पुष २०७९, सोमबार १७:३३

सिमराः बारा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद ज्वालाकुमारी साहले मन्त्री पदको शपथ लिएकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्री साहले शपथ लिएकी हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको नयाँ सरकारमा नेकपा एमालेले साहलाई मन्त्री बनाएको हो । दाहालको नेतृत्वमा बनेको आठ सदस्यीय मन्त्रीपरिषदमा सपथ लिने साह मात्रै एक महिला हुन् ।

एमालेका विष्णु पौडेल उपप्रधानसहित अर्थ, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतीक पूर्वाधार र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधानसहित गृह मन्त्री बनेका छन् । यसैगरी पछि जिम्मेवारी तोकिने गरी साहसहित एमालेबाट राजेन्द्र राई, दामोदर भण्डारी, जनमत पार्टीका अब्दुल खान मन्त्री भएका छन् ।

एमालेले सरकारमा चार मन्त्री पठाउने क्रममा क्रममा पोलिटव्युरो सदस्य समेत रहेकी साहलाई चयन गरेको हो । गठबन्धनविरुद्ध एक्लै चुनाव लडेर साह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिईन् । साह निर्वाचित भएको क्षेत्र एमालेले क्लिनस्वीप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्