हतियारसहित एक भारतीय नागरिक पक्राउ


eShilalekh

१८ पुष २०७९, सोमबार ११:३५

सिमराः सशस्त्र प्रहरीले आइतवार राती बाराको पचरौताबाट हतियारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वीचम्पारण मोतिहारी १६ घर भएका ४० वर्षीय चन्दनकुमार रहेका छन् ।

पचरौता नगरपालिका ४ स्थित गुलरिया नाकाबाट नेपाल आउदै गरेको अवस्थामा बिओपी बेल्दारीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरीले उनको साथबाट तीन राउण्ड गोली लोड भएको पेस्तोल र त्यसमा लाग्ने थप चार राउण्ड गोली बरामद गरेको छ ।

पैदल गस्ती गरिरहेका सशस्त्र प्रहरीले चन्दनकुमारको हाउभाउ अस्वभाविक देखेपछि चेकजाँच गरेको र मोडल नम्बर २०२२ आरएफआइ पेस्तोल बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटरका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिए ।

पेस्तोलसहित पक्राउ परेका चन्दनकुमारलाई आवश्यक कारवाहीका लागि सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा बुझाइएको सूचना अधिकारी खत्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्