भूपतिबाट सिनेक्षेत्रमा कामेश्वरको ‘कमब्याक’


eShilalekh

२३ पुष २०७९, शनिबार २१:३३

सिमराः करिब दुई वर्षदेखी नेपाली सिनेजगतबाट टाढिएका चर्चित कलाकार कामेश्वर चौरसियाले चलचित्र भूपतिबाट ‘कमब्याक’ गर्ने भएका छन् । लामो समयपछि सिनेक्षेत्रमा फर्कने क्रममा चौरसिया कलाकार मात्र नभई निर्माताको भूमिकामा समेत देखिने भएका हुन् ।

थिएटरबाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेर चर्चा कमाएका चौरसिया पछिल्लो समय चलचित्र क्षेत्रबाट टाढिएका थिए । कलाकारिता क्षेत्रमा स्थापित जस्तै भईसकेका उनि कोरोनापछि आफ्नै जन्मभूमि जीतपुर फर्किएका थिए ।

चलचित्र क्षेत्रबाट टाढिएपछि काठमाण्डौमा माछा पसल र काठमाण्डौबाट जीतपुर आएपछि लुगा पसल संचालन गर्दै आएका कामेश्वर अब पुनः चलचित्र क्षेत्रका लागि काम गर्न हौसिएका छन् । उनले कामेश्वर चौरसिया फिल्मस् एण्ड प्रोडक्सनको ब्यानरमा चलचित्र भूपति निर्माण गर्ने घोषणा गरेका छन् ।

सिमरामा शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै चौरसियाले मधेसको कथावस्तुलाई समेटेर चलचित्र निर्माण गर्न लागेको बताए । कोरोनाका कारण भएको लकडाउनको समयमा जीतपुर फर्किएर आफूले लेखेका चार कथामध्ये भूपतिलाई प्राथमिकता दिएर निर्माण गर्न लागेको उनले बताएका छन् ।

कामेश्वर चौरसिया फिल्मस् एण्ड प्रोडक्सन र बिएस मेकरको संयुक्त लगानीमा निर्माण हुन लागेको चलचित्रको छायांकन फाल्गुन १ गतेदेखि हुने समेत उनले जानकारी दिएका दिए । चलचित्रमा चौरसियासहित सुनिता रसाईली, रियाज आचार्य, प्रदीप ढकाल, घनश्याम गिरी, इरसाद खानलगायत स्थानीय कलाकार रहने भएका छन् ।

बारा र पर्साका विभिन्न स्थानमा छायांकन हुने चलचित्रको लागत ७५ लाख रहने र चलचित्र दुई घण्टा पाँच मिनेटको हुने समेत चौरसियाले बताए । लामो समयपछि सिनेक्षेत्रमा फर्किएको भन्दै चौरसियाले दर्शकले रुचाउने विषयवस्तुको उठान गर्ने बताएका छन् ।

पत्रकार सम्मेलनमा पूर्व सिनेकर्मी युवराज लामा, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना, जीतपुरसिमरा ७ का वडाध्यक्ष सुनिल गुप्ता, युवा ब्यवसायी राजकुमार लामा, सुदिप लामा, संचारकर्मी उपेन्द्र ठाकुरलगायतले चलचित्र क्षेत्रको चुनौती र सम्भावनाको विषयमा आफ्ना भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण संचारकर्मी प्रदीप गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्