बाराबाट चुनिए जसपाको संघ र प्रदेशको संसदीय दलको नेता


eShilalekh

२५ पुष २०७९, सोमबार २१:२४

सिमराः प्रतिनिधिसभा र मधेस प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेता बाराका चुनिएका छन् । प्रतिनिधिसभामा दलको नेता पूर्वमन्त्री रामसहाय यादव र प्रदेशसभामा दलको नेता पूर्वसभामुख सरोज यादव चुनिएका हुन् ।

दुवै नेता सर्वसम्मत् दलको नेतामा चयन भएका हुन् । पूर्वमन्त्री यादव बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा दोस्रोपटक निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा संघीय समाजवादी फोरमबाट जित हात पारेका यादव मंसिर ४ गते सम्पन्न निर्वाचनमा जसपाबाट निर्वाचित भएका हुन् ।

यता मधेस प्रदेशसभाका पूर्वसभामुख यादव बारा क्षेत्र नं. २(१) बाट निर्वाचित भएका हुन् । आफूलाई मुख्यमन्त्रीको रुपमा अघि सार्दै आएका यादव पार्टीभित्र सहमती जुटाउदै दलको नेता बनेका हुन् ।

दलको नेता बनेसंगै यादव मुख्यमन्त्री बन्ने निश्चित भएको छ । सत्ता साझेदार दलभित्र मधेस प्रदेशसभाको मुख्यमन्त्रीमा जसपा र जनमत पार्टीले आलोपालो गरेर नेतृत्व गर्ने सहमती भएको छ । सहमतीअनुसार यादव मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

प्रतिक्रिया दिनुहोस्