अमलेखगंजमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न


eShilalekh

३० पुष २०७९, शनिबार १८:४८

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ र २२ को संयुक्त आयोजनामा शनिवार अमलेखगंजमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । अमलेखगंजस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शिविर सम्पन्न भएको हो ।

चुरेहिल अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा दुई सय १४ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । परिक्षण गराउनेमा पुरुषभन्दा महिलाको संख्या बढी छ । शिविरमा एक सय ५८ महिला र ५६ पुरुषले स्वास्थ्य परिक्षण गराएका थिए ।

शिविरका लागि चुरेहिल अस्पतालबाट आएका विज्ञ चिकित्सक ओर्थोपेटिक सर्जन डा. भरत तिमिल्सिना, फिसिजियन तथा इन्टरनल मेडिकल डा. संजयकुमार गुप्ता, सर्जन डा. सरोज प्रधान, न्युरो सर्जन डा. बिक्रमादित्य प्रसाद साह, रेडियोलोजिस्ट डा. मुकेश साह, डा. चन्द्रप्रकाशले स्थानयिको स्वास्थ्य परिक्षण गरेका थिए ।

शिविरमा हाड जोर्नी, नशा, बाथ, पित्तथैली, किड्नी, एपेन्डिस्कलगायत स्वास्थ्यसम्बन्धि विभिन्न समस्याको परिक्षण गरिएको थियो । इसिजिसहित आयोजित शिविरमा बिरामीलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ का अध्यक्ष सुभाष श्रेष्ठले वडाबासीको सहजताका लागि शिविरको आयोजना गरिएको बताए । शिविरले बृद्धबद्धासहित सबै उमेर समूहका नागरिक लाभान्वित भएको श्रेष्ठले बताएका छन् ।

यसैगरी वडा नं. २२ का अध्यक्ष शेखरकाजी रुम्बाले उपचारका लागि अन्यत्र धाउन नसक्ने वडाबासीलाई शिविरले राहत दिएको बताए । उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्