‘म यतिको विमानमा आउदैछु’


eShilalekh

३ माघ २०७९, मंगलवार १६:०८

मनभरी मकर संक्रान्तीको हर्ष, उमंग बोक्दै
घरमा आमाले बनाउनु भएको
चाकु र लड्डुको बास्नाको मिठास लिदै
आमा म यतिको विमानमा आउदैछु ।।

वायुपंखी जहाजमा अनेक सपनाहरु बुन्दै
निलो गगन र बादलहरुसंग मितेरी गास्दै
पहाडका टाकुरा र डाँडाहरु छिचोल्दै
प्रिय म यतिको विमानमा आउदैछु ।।

संगैको सिटमा पोखराकै दिदी अनि ६ महिनाको बाबु देख्दा
पिढीको डिलमा मलाई कुरी बसेको मेरो काले सम्झिदै,
बाबा मलाई घर आउदा प्लेन ल्याईदिनु है भन्थ्यो
कालेको लागि किनेको त्यो चार्जिङ प्लेन अंगाल्दै
काले म यतिको विमानमा आउदैछु ।।

सपना लाग्दै थियो, अचानक सबै अत्तालिदै कराउन लागे
प्लेन कहिले उल्टो त कहिले सुल्टो हुँदै गर्दा
हे भगवान मेरो आमा, मेरो प्रिय
अनि मेरो कालेसंग भेट गराईदे भन्न लागे ।।

मात्र याद थियो प्लेन बजारिएको अनि चित्कार गुञ्जिएको
सबै शान्त भए आमा, मेरो प्रिय अनि मेरो प्राण काले
सल्किरहेको आगो र उडिरहेको धुँवाको मुस्लोमा
कालेलाई किनिदिएको चार्जिङ प्लेनसंगै
पाए आफूलाई जलिरहेको ।।

रचनाकार जीतपुरसिमरा २ निवासी प्रकाश ढुंगाना हुनुहुन्छ ।

तपाई पनि आफ्नो साहित्यिक रचना, लेख, कथा, कविता प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो इमेल [email protected] मा पठाउन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्