मुख्यमन्त्री यादवले पाए शतप्रतिशत विश्वासको मत


eShilalekh

४ माघ २०७९, बुधबार १९:०९

सिमराः मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधवार विश्वासको मत प्राप्त गरेका छन् । बारा क्षेत्र नं. १(२) बाट निर्वाचित यादवले मधेस प्रदेशसभाको बैठकमा शतप्रतिशत विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रदेशसभाको बैठकमा उपस्थित एक सय दुई सांसद मध्ये यादवको पक्षमा सबै मत खसेको थियो । उनको विपक्षमा कुनै मत खसेन । यसअघि मुख्यमन्त्रीमा समर्थन नगरेको नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले समेत मूख्यमन्त्री यादवलाई विश्वासको मत दिएका छन् ।

स्वतन्त्रसहित सबै दलले यादवलाई विश्वासको मत दिएसंगै प्रदेशसभामा प्रतिपक्षी दल नरहने भएको छ । प्रदेशसभामा एक सय सात सांसद रहेका छन् । जसमध्ये नेकपा माओवादी केन्द्रका दुई सांसदको सपथ अदालतका कारण रोकिएको छ भने विश्वसको मत दिने बैठकमा तीन सांसद अनुपस्थित रहेका थिए ।

यादव मधेस प्रदेशसभाको निवर्तमान सभामुख समेत हुन् । २०७४ सालको निर्वाचनमा तत्कालिन राजपाबाट निर्वाचित भएका यादव सभामुखमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्