सशस्त्र प्रहरी दिवसको अवसरमा बारामा विविध कार्यक्रम


eShilalekh

९ माघ २०७९, सोमबार १७:३७

सिमराः २२औं सशस्त्र प्रहरी दिवस बारामा पनि मनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण, मुख्यालयले सोमबार विविध कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो ।

दिवसको अवसर पारेर मुख्यालयले अमर सशस्त्र प्रहरीका परिवारलाई सम्मान, उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान, विभिन्न खेलकुद प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण गरेको थियो ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक रविन सिलवालले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्धारा जारी शुभकामना सन्देश पत्र पढेर सुनाएका थिए ।

कार्यक्रममा राष्ट्रिय उपसन्धान निर्देशक अभिनयकुमार सिंह, ज्वालादल गण कलैयाका सेनानी कपिलकुमार सिंह, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापा, गणका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीसहित गण मातहत रहेका कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारी, परिवारलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई प्रमुख जिल्ला अधिकारी कटुवालसहितका अतिथिले सम्बोधन गरेका थिए । सशस्त्र प्रहरी नायब निरीक्षक रमेश घिमिरले संचालन गरेको उक्त कार्यक्रममा निमित्त गणपति खत्रीले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्