बारामा अदालतबाट सजाय पाएका ३३२ जना एकैदिनमा पक्राउ, ३६ जना कारागार चलान


eShilalekh

९ माघ २०७९, सोमबार २०:०५

कलैयाः जिल्ला अदालत बाराबाट विभिन्न मुद्धामा कैद तथा जरिवाना तोकिए पनि फरार रहदै आएका तीन सय ३२ जनालाई बारा प्रहरीले एकैदिनमा पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले फरारको सूचिमा रहेका उनिहरुलाई सोमबार जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरी अदालतको फैसला कार्यान्यवनको प्रक्रिया अघि बढाएको हो ।

पक्राउ पर्नेमा सामान्य जरिवानादेखि हातहतियार, बैंकिङ कसुरलगायतको मुद्धामा कैद सजाय सुनाइएका प्रतिवादी समेत छन् । बाराका प्रहरी प्रवक्ता राजेश थापाले अधिकतम साढे ६ वर्षको कैद सजाय सुनाइएका फरार व्यक्तिदेखि सामान्य जरिवाना तोकिएका व्यक्तिलाई पक्राउ गरी अदालतमा पेश गरेको जानकारी दिए ।

थापाका अनुसार पक्राउ पर्नेमा ६ वर्ष पाँच महिना १० दिन कैद सजाय तोकिएका कलैया उपमहानगरपालिका १ का बिजय दास, बैंकिङ कसुर मुद्धामा सात लाख जरिवाना तोकिएका पचरौता २ का एजाजुल हक अंसारी, हातहतियार मुद्धामा कैद सजाय पाएका निजगढ १ का बासु चौधरीलगायत छन् ।

पक्राउ परेकामध्ये ३६ जनालाई वीरगन्जस्थित कारागार चलान गरिएको र अन्यले तोकिएको जरिवाना तिरेर मुक्त भएको थापाले बताए । अदालतको फैसला कार्यान्यवन गराउन र सजाय पाएका व्यक्तिलाई कानुनी दायरामा ल्याउन अभियान थालिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्