जरायो शिकार प्रकरणः दुई प्रदेशसभा सदस्यसहित ४९ जनाविरुद्ध मुद्धा दर्ता


eShilalekh

२१ माघ २०७९, शनिबार २०:५०

सिमराः पर्सा राष्ट्रिय निकुञ्जले पुस ४ गते निकुञ्ज क्षेत्रभित्र भएको जरायो शिकार प्रकरणमा ४९ जनाविरुद्ध मुद्धा दर्ता गरेको छ । झण्डै डेढ महिना लामो अनुसन्धानपछि निकुञ्जले वन्यजन्तु शिकार प्रकरणमा ४९ जना संलग्न देखिएको भन्दै उनिहरुविरुद्ध मुद्धा दर्ता गरेको हो ।

निकुञ्जले मुद्धा दर्ता गरेको ४९ जनाको सूचिमा दुई प्रदेशसभा सदस्य समेत छन् । मुद्धा दर्ता हुनेमा पर्सा ३(१) बाट मधेस प्रदेशसभा निर्वाचित प्रमोद जयसवाल र काठमाण्डौं ५(२) बाट बाग्मती प्रदेशसभामा निर्वाचित श्यामबहादुर खड्का रहेका छन् ।

यसैगरी सखुवाप्रसौनी गाँउपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवालसहित प्रकाश केसी, संजिब शाही, सखुवा प्रसौनी १ का बिशाल सहनी, झापस दास थारु, नवराज बस्नेत, दामोदार अधिकारी, म्लाङदोङ तामाङ, सुलन मियाँ अंसारी र भोलाबहादुर पुन मगरविरुद्ध मुद्धा दर्ता गरिएको छ । यसैगरी पहिचान खुलेर फरार रहेका कुमार लामा, बिकास सहनी र उपेन्द्र यादवसहित पहिचान नखुलेका अन्य ३४ जनाविरुद्ध मुद्धा दर्ता भएको निकुञ्जका सूचना अधिकारी सुर्य खड्काले जानकारी दिए ।

मुद्धा दर्ता गरिएकामध्ये प्रदेशसभा सदस्यद्धय जयसवाल र खड्का, पूर्व गाँउपालिका अध्यक्ष जयसवाल, शाहीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २७ बमोजिम सजाय माग गरिएको छ । उक्त दफामा कसुर ठहरिने अपराध गर्ने व्यक्तिलाई सहयोग गर्ने मतियारले कसुरदारलाई दिइने सजायको आधा सजाय हुने व्यवस्था छ ।

यसैगरी प्रकाश केसी, बिशाल सहनी, झापस दास थारु, नवराज बस्नेत, दामोदार अधिकारी, म्लाङदोङ तामाङ, सुलन मियाँ अंसारी र भोलाबहादुर पुन मगरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६(३) बमोजिम सजाय माग गरिएको छ । उक्त दफामा २० हजार देखि ५० हजारसम्म जरिवाना र ६ महिनादेखि एक वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
यस्तै पहिचान खुलेर फरार रहेका लामा, सहनी र यादवको हकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६(३) र अन्य ३४ जनाको हकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम सजाय माग गरिएको सूचना अधिकारी खड्काले जानकारी दिएका छन् ।

प्रदेशसभा सदस्य खड्कालाई आफ्नो नाममा दर्ता भएको हतियार अन्यलाई प्रयोग गर्न दिएको भन्दै हातहतियार खरखजाना ऐन २०१९ बमोनिम कारवाही गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाएको सूचना अधिकारी खड्काले बताए ।

जरायो शिकारका क्रममा प्रयोग भएका हतियार, गाडी, नगद, मोबाइल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २८ बमोजित जफत गर्ने भएको छ । अनुसन्धानका क्रममा प्रतिवादीमध्ये केही व्यक्तिको वित्तिय कारोवार अस्वभाविक देखिएको भन्दै सम्पति शुद्धीकरण निवारण ऐन २०६४ बमोजिम अनुसन्धान गर्न सम्पति शुद्धीकरण अनुसन्धान विभागमा पत्र पठाएको निकुञ्जले जनाएको छ ।

मुद्धा दायर गरिएका प्रतिवादीहरुले देशविदेशमा विभिन्न समूहमा बनाई वन्यजन्तुको शिकार गर्ने र आखेटोपहार ओसारपसार गर्ने गरेको प्रमाण देखिएको भन्दै निकुञ्जले उक्त कसुरविरुद्ध लाग्ने ऐनअनुसार कारवाही गर्न थप अनुसन्धान गर्ने निर्णय गरेको छ ।

यस्तो छ घटनाः

पुस ४ गते निकुञ्जको जमुनिया क्षेत्रमा शिकार गरिरहेको समयमा पाँच जना पक्राउ परेका थिए । शिकार गरेको सूचना पाएपछि निकुञ्ज प्रशासन र नेपाली सेनाको टोली पछ्याउदै पुगेको थियो ।

निकुञ्ज क्षेत्रभित्र बन्दुक पड्किएको आवाज सुनेपछि सेनाको टोलीले घेरा हालेर पाँच जनालाई पक्राउ गरेको हो । सेना र निकुञ्जको टोलीले जंगलभित्रबाट सखुवा प्रसौनी १ का बिशाल सहनी, झापस दास थारु, नवराज बस्नेत, दामोदार अधिकारी र म्लाङदोङ तामाङलाई पक्राउ गरेको थियो । उनिहरुको साथबाट मृत पोथी जरायो, भाले जरायोको सिङसहितको टाउको, दुई वटा गाडी, बन्दुक एक थान, नाइटभिजन, टेलिस्कोप, दुई लाख ९० हजार नगद बरामद गरेको थियो ।

उनिहरुको बयानका आधारमा केही दिनमै अर्का दुई सुलन मियाँ अंसारी र भोलाबहादुर पुन मगर पक्राउ परेका थिए । त्यसलगत्तै निकुञ्जको अनुसन्धान प्रदेशसभा सदस्यसहित अन्यतर्फ मोडियो । अनुसन्धानका क्रममा बाग्मती प्रदेशसभाका सदस्य खड्काले आफूले इजाजत लिएको हतियार शिकारका लागि प्रयोग गर्न दिएको देखिएको छ । यस्तै शिकारका लागि प्रयोग हुने सामाग्री प्रदेशसभा सदस्य जयसवालको फार्म हाउसबाट निकुञ्जले बरामद गरेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको अनसुन्धान प्रतिवेदन, घटनास्थलबाट बरामद वन्यजन्तु र सामाग्रीको विधि विज्ञान प्रयोगशाला खुमलटारमा गरिएको परीक्षण र पक्राउ परेका व्यक्तिको बयानका आधारमा निकुञ्जले उनिहरुविरुद्ध मुद्धा दर्ता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्