सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट जीतपुरसिमरा अस्पतालको २४ घण्टे सेवा शुभारम्भ


eShilalekh

२५ माघ २०७९, बुधबार १९:१०

सिमराः जीतपुरसिमरा २ सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रस्तावित जीतपुरसिमरा अस्पतालको २४ घण्टे सेवा शुभारम्भ गरिएको छ । स्वास्थ्य केन्द्र भवनबाट तत्काल सेवा प्रदान गर्ने गरी बुधवारदेखि सेवा शुभारम्भ गरिएको हो ।

जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलले सेवा प्रारम्भ गरेका थिए । नगर प्रमुख पौडेलले प्रसुती र डायलासिस सेवा तत्काल उपलब्ध गराउने उदेश्यले केन्द्रकै भवनबाट सेवा प्रारम्भ गरिएको बताए । उनले स्वास्थ्य बीमा, जनतासंग स्वास्थ्य कार्यक्रमलगायतका योजना ल्याउन उपमहानगरपालिकाले काम गरिरहेको बताएका छन् ।

नगर प्रमुखले सेवा प्रारम्भ गरेसंगै प्राथमिक स्वास्थ्य केन्द्र जीतपुरसिमरा अस्पतालमा रुपान्तरित भएको छ । यसअघि स्वास्थ्य केन्द्रले प्राथमिक जाँच र खोप सेवा प्रदान गर्दै आएको थियो ।

अस्पतालका रुपमा रुपान्तरित भएसंगै २४ घण्टे ओपिडी, आकस्मिक र प्रसुती सेवा प्रदान गरिने उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रवी भाष्करले जानकारी दिएका छन् । उनले १० रुपैयामा ओपिडी र २५ रुपैयामा आकस्मिक सेवा लिन सकिने बताए ।

कार्यक्रममा नेकपा एमालेका नेता मनोज पौडेलले अस्पताल सेवा संचालन गरिएको खुशी व्यक्त गर्दै दक्ष र विज्ञ जनशक्ति स्थायीरुपमा कायम गर्न आवश्यकता रहेको बताए । नेता पौडेलले जनशक्तिका लागी सम्बन्धित मन्त्रालयसंग माग गर्न सकिने बताए ।

सेवा शुभारम्भ कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले अस्पतालको सेवा प्रारम्भ भएसंगै आफ्नो स्वास्थ्य परीक्षण गराउन नगरबासीलाई आग्रह गरेका छन् । अस्पतालका लागि आवश्यक पूर्वाधार तयार हुन केही समय अझै लाग्ने बताउदै पोखरेलले हाल उपलब्ध पूर्वाधार र जनशक्तिबाटै सेवा प्रदान गर्न स्वास्थ्य शाखा सक्षम रहेको बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्दै १५ शैयाको अस्पताल संचालन गर्ने उदेश्यसहित उपमहानगरपालिकाले असोज १० गते अस्पताल निर्माणको शिलान्यास गरेको थियो । नेपाल सरकारका तत्कालिन स्वास्थ्य मन्त्री भवानी खापुङले शिलान्यास गरेको उक्त अस्पताल निर्माणधिन अवस्थामा छ । उक्त अस्पताल निर्माणको काम सम्पन्न हुन अझै समय लाग्ने र निर्माण सम्पन्न नभएसम्म प्राथमिक स्वास्थ्य केन्द्रबाटै सेवा प्रदान गरिने स्वास्थ्य महाशाखा प्रमुख भाष्करले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्