उपमहानगरपालिका भित्रका स्वास्थ्य संस्थालाई अनुमति लिन जीतपुरसिमराको निर्देशन


eShilalekh

२६ माघ २०७९, बिहीबार ०९:४९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो पालिका क्षेत्रभित्र संचालनमा रहेका स्वास्थ्य सम्बन्धि सेवा प्रदान गर्दै आएका संस्थालाई दर्ता गर्न सूचना जारी गरेको छ । स्वास्थ्य संस्थालाई नियमन गर्नका लागि उपमहानगरपालिकाले दर्ता तथा नविकरण प्रक्रिया सुरु गर्न लागेको हो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरलेलद्धारा जारी सूचना अनुसार यसअघि संचालनमा रहेका र अब संचालनमा आउन लागेका स्वास्थ्य संस्थाहरु उपमहानगरपालिकाको कार्यालयमा दर्ता गरेर अनुमति लिनुपर्नेछ । उक्त कार्यका लागि उपमहानगरपालिकाले स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण सम्बन्धि निर्देशिका २०७९ राजपत्रमा प्रकाशित गरिसकेको छ ।

उपमहानगरपालिकाको मंसिर २९ गते बसेको कार्यपालिकाको पारित गरेको निर्देशिका माघ १२ गते राजपत्रमा प्रकाशित भएको हो । राजपत्रमा प्रकाशित भएसंगै उपमहानगरपालिका भित्र संचालनमा रहेका र संचालनमा आउन लागेका अस्पताल तथा नर्सिङ होम, डायगनोस्टिन सेन्टर, पोलिक्लिनिक, आयुर्वेद अस्पताल, आयुर्वेद क्लिनिक र क्लिनिकले दर्ता तथा नविकरण गर्नुपर्नेछ ।

निर्देशिका जारी हुनुअघि अनुमतिका लागि उपमहानगरपालिकाको कार्यालय निवेदन दिएका स्वास्थ्य संस्थाले तोकिएको शुल्क र अनुमतिका लागि निवेदन नदिई संचालन हुँदै आएका स्वास्थ्य संस्थाले अतिरिक्त दुई गुणा बढी शुल्क तिरेर दर्ता गर्नुपर्ने उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले राजपत्रमा स्वास्थ्य संस्था दर्ता तथा नविकरणका लागि शुल्क समेत तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्