बाराका रामसहाय यादवले गरे उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता


eShilalekh

२७ फाल्गुन २०७९, शनिबार १५:३७

सिमराः बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामसहाय यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । यादव पूर्वमन्त्री एवम् जसपाको संसदीय दलको नेता हुन् ।

संसद भवन पुगेर यादवले १० दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका हुन् । यादवको प्रस्तावकमा जसपाका नेता अशोककुमार राई, प्रदीप यादव, एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका शक्ति बस्नेत र नेपाली कांग्रेसका रमेशजंग माझी छन् भने समर्थकमा जसपाकी रेखा यादव, अम्बिका काफ्ले, एकीकृत समाजवादीका प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन् ।

यसैगरी १० दलकै तर्फबाट जसपाकी प्रमिला यादव र जनमत पार्टीकी ममता झाले समेत उम्मेदवारी दिएका छन् । उपराष्ट्रपति पदको विषयमा छलफल गर्न बसेको १० दलीय बैठक निष्कर्षविहिन भएपछि तीन जनाले उम्मेदवारी दिएका हुन् ।

निर्वाचन आयोगले राष्ट्रपतिमा निर्वाचित भएका लिंग वा समुदायभन्दा फरक लिंग वा समुदायका व्यक्ति मात्रै उपराष्ट्रपतिको उम्मेदवार बन्न पाउने सूचना जारी गरेपछि जसपाले एक पुरुष र एक महिला गरी दुई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसैगरी एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गरेकी छिन् । एमालेको केन्द्रीय सचिवालयको बैठकले शाक्यलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्