बारा २ मा बैशाख १० गते उपनिर्वाचन


eShilalekh

६ चैत्र २०७९, सोमबार १६:५४

सिमराः निर्वाचन आयोगले बारा निर्वाचन क्षेत्र नं. २ मा बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले बारासहित तनहुँ १ र चितवन २ को निर्वाचन एकैपटक गर्ने निर्णय गरेको हो ।

तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति पदमा निर्वाचित भएसंगै दुबै जना सांसद पदबाट स्वतः पदमुक्त भएका छन् । यसैगरी चितवन २ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद नागरिकतासम्बन्धि मुद्धामा सर्वोच्च अदालतको फैसलापछि रिक्त छ ।

सांसद पद रिक्त रहेका तीन वटै क्षेत्रमा पूर्व निर्धारित कार्यतालिका अनुसार उपनिर्वाचन गर्ने गरी आयोगले निर्णय गरेको हो । आयोगको निर्णय अनुसार चैत्र २० गते मनोनयन दर्ता हुने भएको छ ।

आयोगले चैत्र १६ गते मतदाता नामावली प्रकाशन, चैत्र १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत्र २० गते मनोनयन, चैत्र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह प्रदान र बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको हुने जनाएको छ ।

जसपाका संसदीय दलका नेता समेत रहेका यादव उपराष्ट्रपतिमा निर्वाचित भएसंगै बारा २ मा उपनिर्वाचनको सरगर्मी बढ्न थालेको छ । बारा २ बाट जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव आफै चुनाव लड्न तयारी गरिरहेका छन् । उनिसंगै जसपाबाट अन्यले समेत आकांक्षा देखाएका छन् ।

उपनिर्वाचनका लागि अन्य पार्टीले समेत उम्मेदवार छनौटको आन्तरिक तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्