प्रसौनीमा एमालेको जनसंगठनको भेला सम्पन्न


eShilalekh

६ चैत्र २०७९, सोमबार १७:०८

सिमराः बाराको प्रसौनी गाउँपालिकामा नेकपा एमाले निकट जनसंगठनको भेला सोमबार सम्पन्न भएको छ । मिसन ग्रासरुट अन्तर्गत प्रसौनी १ मा भेला सम्पन्न भएको हो ।

मिसन ग्रासरुटलाई जनस्तरसम्म पुर्याउने निर्णय गर्दै भेलाले वडातहमा जनसंगठनको कमिटी गठन गरेको छ । भेलाले आशिर अंसारीको अध्यक्षतामा राष्ट्रिय युवा संघ नेपाल, प्रमोद दास तत्माको अध्यक्षतामा मुक्ति समाज र ललन पटेलको अध्यक्षतामा किसान संघको वडा कमिटी गठन गरेको हो ।

यसअघि भेलाको उद्घाटन एमाले मधेस प्रदेश कमिटी सदस्य मनोज पौडेलले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले मिसन ग्रासरुट अभियानलाई प्रभावकरी ढंगले अघि बढाउन जरुरी रहेको बताए ।

नेता पौडेलले वर्तमान सरकारको आयु लामो नरहेको बताउदै धोकाको राजनीति धेरै दिन नटिक्ने बताए । प्रतिपक्षमै बसेर एमालेले देश र जनताको पक्षमा काम गर्ने भन्दै नेता पौडेलले मिसन ग्रासरुट अभियानले एमालेलाई अझै बलियो बनाउने बताए ।

एमाले वडा कमिटी अध्यक्ष अहमद मंसुरीको अध्यक्षतामा सम्पन्न भेलामा परवानीपुर गाँउपालिकाका अध्यक्ष विनोद जयसवाल, एमाले प्रदेश कमिटी सदस्य सुनिल पाल, परवानीपुर गाउँपालिकाकी उपाध्यक्ष किरणदेवी साह, एमाले पूर्व जिल्ला कमिटी सदस्य महेश विक, वडा नं. १ का वडाध्यक्ष सरोज साह, एमाले क्षेत्रीय सदस्य नाजिर हुसेनलगायतको उपस्थिती रहेको छ ।

मिसन ग्रासरुट अभियान अन्तर्गत प्रसौनी गाउँपालिकामा एमालेले वडातहमा पार्टी र जनसंगठनको भेला तथा बैठक गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्