नेपाल शिक्षक संघ बाराको अध्यक्षमा सहनी निर्वाचित


eShilalekh

११ चैत्र २०७९, शनिबार ०९:०३

सिमराः नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ बाराको अध्यक्षमा राजकिशोर सहनी निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि बुधवार भएको निर्वाचनबाट निवर्तमान सचिव समेत रहेका सहनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का उम्मेदवार परमहंस यादवलाई दुई ४० मतको मतान्तरले पराजित गर्दै सहनी निर्वाचित भएका हुन् । सहनीले एक हजार एक सय १७ मत प्राप्त गर्न यादवले आठ सय ७७ मत प्राप्त गरे ।

सहनी कांग्रेसको संस्थापन पक्ष र यादव इतर समूहका हुन् । संघको नवौं जिल्ला अधिवेशनले सर्वसम्मत् नेतृत्व चयन गर्न नसकेपछि निर्वाचन भएको थियो । निर्वाचनमा दुवै उम्मेदवार प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए । कुल दुई हजार दुई सय २२ मतदातामध्ये निर्वाचनमा दुई हजार ३५ मत खसेको थियो ।

चार वर्षे कार्यकालका लागि निर्वाचनबाट चयन भएका कार्यसमितिमा सहनी प्यानलकै वर्चश्व देखिएको छ । संघको महिला उपाध्यक्षमा सहनी प्यानलकै अनिला चौधरी, उपाध्यक्ष सुभाषचन्द्र यादव, सचिव सुकदेव यादव, सचिव (अर्थ) ऋषीकान्त चौधरी, सहसचिव रामविनय प्रसाद यादव, समावेशी सहसचिव धनिराम चौधरी र हितेन्द्र चौधरी निर्वाचित भएका छन् ।

यसैगरी सदस्यमा अमृताकुमारी राई, भोला साह, मनोज शर्मा, रामानन्द यादव निर्वाचित हुँदा प्रदेश प्रतिनिधिमा कपिलदेव यादव, कमलेशकुमार दुवे, दीपनारायण चौधरी, राजा खाँ पैठान, बृजकिशोर यादव, राजकपुर सहनी, रामदेव यादव र विद्याप्रसाद यादव निर्वाचित भएको निर्वाचन अधिकृत पवन यादवले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्