बाराकै धर्तीमा जन्मिएका व्यक्ति एमालेको उम्मेदवार हुन्छः नेता पोखरेल


eShilalekh

१३ चैत्र २०७९, सोमबार १८:०२

सिमराः नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बारा २ मा हुने उपनिर्वाचनमा पार्टीले बाहिरबाट ल्याएर उम्मेदवार नबनाउने बताएका छन् ।

मिसन ग्रासरुट अन्तर्गत कलैयामा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्ने क्रममा नेता पोखरेलले जिल्लाकै धर्तीमा जन्मिएका र भुगोलमा राजनीति गरिरहेका व्यक्ति एमालेको उम्मेदवार हुने बताए ।

जनता समाजवार्दी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव बारा २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला नेता पोखरेलले एमालेको उम्मेदवार बाराबासी बाहेक अन्य जिल्लाको नहुने बताएका हुन् ।

जनता समाजवादी पार्टीका रामसहाय यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि बारा २ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसंग पराजित भएका यादव बारा २ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।

यादव बारा आउने चर्चा चुलिएसंगै राजनीतिक दलहरु चुनाव केन्द्रीत हुन थालेका छन् । एमाले नेता पोखरेलले बारा २ को निर्वाचनमा एमालेको उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको बताए ।

कार्यक्रममा एमाले सचिव रघुविर महासेठले मधेसको मुद्धा उठाएर मधेसीको भावनासंग खेल्ने जसपा अध्यक्ष यादव बारा २ मा चुनाव लडे फेरी पनि पराजय हुने दाबी गरे । यादव चार महिनामै पद र सत्ताका लागि यादव तड्पिएको भन्दै महासेठले मधेसी जनताले त्यसको जवाफ चुनावमा दिने बताए ।

प्रशिक्षण कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, ज्वालाकुमारी साह, केन्द्रीय सदस्य राजकुमार गुप्ता, प्रभु हजरा, महमद समिर, बलवीर चौधरी, अरविन्द सिंह, रंजना सरकार, प्रदेशसभा सदस्य देवनारायण चौधरी, रवीन्द्रदास श्रेष्ठलगायत एमालेको विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्