साविक उपविजेता एपीएफ स्तब्ध, चर्च ब्वाईज सेमिफाइनलमा


eShilalekh

१५ चैत्र २०७९, बुधबार ००:१५

सिमराः विभागिय टोली नेपाल एपीएफ क्लब जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपबाट बाहिरिएको छ । सिमरा रंगशालामा मंगलवार भएको खेलमा चर्च ब्वाईज युनाइटेड क्लबसंग २–१ ले स्तब्ध हुदै साविक उपविजेता एपीएफ पहिलो खेलबाटै घर फर्किएको हो ।

एपीएफले लगातार पहिलो खेलमै हार व्यहोरेको मोफसलको यो तेस्रो प्रतियोगिता हो । यसअघि २२औं तिलोत्तमा गोल्डकप र छैठौं सुदूरपश्चिम खप्तड गोल्डकपमा पनि एपीएफ पहिलो खेलमा पराजय भोग्दै बाहिरिएको थियो । एपीएफका लागि जीतपुरसिमराको यात्रा पनि सुखद् रहन सकेन् ।

तिलोत्तमा गोल्डकपमा फ्रेण्डससंग २–१ ले पराजित भएको एपीएफ खप्तड गोल्डकपमा बागमतीसंग १–० ले हार व्यहोरेको थियो । लगातार दुई ठुला प्रतियोगिताबाट पराजित हुँदा निराश बनेको एपीएफ मोफसलकै प्रतिष्ठित प्रतियोगिता जीतपुरसिमरा गोल्डकपमा सुखद् नतिजा निकाल्ने सोचमा थियो ।

आफू साविक उपविजेता रहेको प्रतियोगितामा एपीएफ उच्च मनोबलका साथ मैदानमा उत्रिएको थियो । तर उसका लागि जारी ए डिभिजन लिगको बलियो टोलीको रुपमा देखिएको चर्च व्वाईज बाधक बन्न पुग्यो । जीतपुरसिमरा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाईजले एपीएफलाई पन्छाउदै अन्तिम चारको यात्रा तय गरेको हो ।

एपीएफले खेलको सुरुवातमै लिएको अग्रता उल्टाउदै चर्च ब्वाईजले नतिजा आफ्नो पक्षमा पारेको थियो । खेलको २४औं मिनेटमा सन्तोष श्रेष्ठले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए । श्याम नेपालीको पासलाई सदुपयोग गर्दै सन्तोषले गोल गरेका थिए ।

तर एपीएफको अग्रता धेरै बेर टिक्न सकेन । खेलको ३१औं मिनेटमा रंजित पाण्डेको क्रस बलमा सन्तोष न्यौपानेले हेडमार्फत चर्च ब्वाईजका लागि बराबरी गोल फर्काए । सन्तोषको हेडर बललाई गोललाईनबाट एपीएफका कप्तान सुदीप शिखराकारले फर्काउने प्रयास गरेपनि सफल हुन सकेनन् । उनको खुट्टामा लागरे बलले जाली चुमेको थियो ।

सन्तोषको गोलबाट खेलमा फर्किएको चर्च ब्वाईजले खेलको ४२औं मिनेटमा अग्रता बढायो । सुभाष गुरुङको क्रस बलमा डाईभिङ हेड गर्दै रंजित पाण्डले उत्कृष्ट गोल गरेका थिए । उनको गोलसंगै पहिलो हाफमा चर्च ब्वाईजले खेल २–१ को स्थितीमा ल्याएको थियो ।

दोस्रो हाफमा दुवै टिमले आक्रामक खेल प्रर्दशन गरेपनि एक गोलले पछि परेको एपीएफ दवावमा देखिएको थियो । बलियो विभागिय टोलीविरुद्धको अग्रता जोगाउन चर्च ब्वाईजलाई पनि निकै संघर्ष गर्नुपरेको थियो ।

प्रधानमन्त्री थ्री नेसन्स कपका लागि नेपाली राष्ट्रिय टोलीमा रहेका आफ्नो नियमित कप्तान नविन लामासहित डिफेण्डर सनिश श्रेष्ठ र मिडफिल्डर मणी लामा बिनानै मैदानमा उत्रिएको एपीएफले गोल फर्काउने केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन । यता चर्च ब्वाईज पनि अन्जन बिष्ट, अनन्त तामाङ र एरिक बिष्ट जस्ता स्टार प्लेयर बिना मैदानमा उत्रिएको थियो ।

विभागिय टिमविरुद्ध सुखद नतिजा निकाल्ने क्रममा चर्च ब्वाईजले अन्तिम समय सम्म निकै सघर्ष गर्नुपर्यो । एपीएफको अग्रता उल्टाउदै जित निकालेपछि चर्च ब्वाईजका प्रशिक्षक प्रदीप हुमागाई निकै खुशी देखिए । हुमागाईले यसअघि नेपालको राष्ट्रिय टोलीको कार्यबाहक प्रशिक्षकको भूमिका समेत निभाएका थिए ।

खेलको म्यान अफ दि म्याच चर्च ब्वाईजका ओउसो बेम्पा घोषित भए । उनले एभरेष्ट बैंकद्धारा प्रायोजित म्यान अफ दि म्याच बापत १० हजार नगद प्राप्त गरे ।

चर्च ब्वाईजको जितसंगै जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलको समिकरण पूरा भएको छ । चर्च ब्वाईजले अब फाइनल प्रवेशका लागि बिहिवार एनआरटी क्लबसंग खेल्नेछ । प्रतियोगिता अन्तर्गत बुधबार हिमालयन शेर्पा क्लब र मकवानपुर ११ बीच पहिलो सेमिफाइनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्