बारा २ मा पूर्वमन्त्री पौडेललाई उम्मेदवार बनाउने एमालेको निर्णय


eShilalekh

१९ चैत्र २०७९, आईतवार १९:११

सिमराः नेकपा एमालेले बारा क्षेत्र नं. २ मा पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने भएको छ । बैशाख १० गते हुने उपनिर्वाचनका लागि पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज समेत रहेका पौडेललाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको हो ।

एमाले जिल्ला कमिटी बाराले उम्मेदवारका लागि पौडेलसहित राजेश साह र बन्दना सिंहको नाम सिफारिस गरेको थियो । जिल्ला कमिटीको सिफारिसअनुसार एमाले नेतृत्वले पौडेललाई अघि सार्ने निर्णय लिएको हो ।

यसअघि शनिवार बसको केन्द्रीय सचिवालय बैठकले तनहुँ १ मा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउँदा बारा २ आइतवार टुंगो लगाउने निर्णय गरेको थियो । सोही अनुसार एमालेले पूर्वमन्त्री पौडललाई उम्मेदवार बनाउने भएको हो ।

पूर्वमन्त्री पौडेललाई उम्मेदवार बनाउने निर्णयसंगै बारा २ को निर्वाचन प्रतिस्पर्धात्मक हुने देखिएको छ । बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार बन्न लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्