बारा २ः चुनाव हारेका अनुहार बढी


eShilalekh

२१ चैत्र २०७९, मंगलवार ०९:४३

सिमराः मंसिर ४ मा सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका चर्चित अनुहारसहित ३६ जनाले बारा २ को उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । कलैयास्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर १२ जनाले राजनीतिक दल र २४ जनाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेका हुन् ।

दलबाट मनोनयन दर्ता गर्नेमा जनता समाजवार्टी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, आम जनता पार्टीका अरुण ज्ञवाली छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल साह तेली, नागरिक उन्मुक्ती पार्टीका कमरुल्लाह अंसारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका मनिफ मिया अंसारी, नेपाल मजदुर किसान पार्टीका मुक्ती यादव, हाम्रो नपाली पार्टीका चन्द्रप्रकाश सुवेदी, नेपाल संघीय समाजवादी पार्टीका नेराजुल अंसारी, मंगोल नेशनल अर्गनाईजेशनका प्रमोद राम चमारले उम्मेदवारी दिएका छन् भने अन्य स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्रमध्ये अधिकांश राजनीतिक दलका ‘डमी’ उम्मेदवार छन् ।

ठुला दलबाट उम्मेदवारी दिएका उम्मेदवारमध्ये केही चर्चित तर चार महिना अघि सम्पन्न निर्वाचनमा पराजित अनुहार समेत छन् । सप्तरी २ बाट जनमत पार्टीका डा. सिके राउतसंग पराजय व्यहोरेका जसपा अध्यक्ष यादव अर्को अवसर खोज्दै बारा आएका छन् । बारा २ बाट निर्वाचित रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर अध्यक्ष यादवले उक्त क्षेत्र रिक्त पारेका थिए ।

लगातार दुई पटक चुनाव जितेका यादवलाई उपराष्ट्रपति बनाएर उनको स्थानमा आफै उम्मेदवार बन्न आएका यादवलाई यसपटक पनि जनमतका राउतले चुनौती दिएका छन् । डा. राउतले उपराष्ट्रपति यादवसंग थोरै मतान्तरले पराजित भएका शिवचन्द्र कुशवालाई उम्मेदवारका रुपमा अघि सारेका छन् ।

नेकपा माओवादी केन्द्रबाट आफ्नो पार्टीमा भित्राउदै डा. राउतले यादवविरुद्ध उम्मेदवार खडा गरेका हुन् । उनले केही दिन अघि बारामै आएर जसपा अध्यक्ष यादवलाई पराजित गर्नका लागि आफू सक्रिय हुने बताएका थिए । उनले जसपा अध्यक्ष यादवलाई पराजित गर्ने दावी गरेका छन् ।

जनमत पार्टीबाट उम्मेदवार बनेका कुशवाहा पनि पराजित अनुहार हुन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका कुशवाहा माओवादी केन्द्रबाट टिकट नपाउने निश्चित भएपछि जनमत पार्टी प्रवेश गरेका उम्मेदवार बनेका हुन् । कुशवाहाले डा. राउतसंगै निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।

यता रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्न पूर्व डिआइजी रमेश खरेल बारा आएका छन् । काठमाण्डौ १ बाट पराजित खरेल दोस्रो अवसर खोज्दै बारा आएका हुन् । स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर खरेलले उम्मेदवारी दर्ता गराए ।

यता प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट अरुण ज्ञवाली उम्मेदवार भएका छन् । उनि पनि मंसिर ४ मा सम्पन्न निर्वाचनमा पराजित अनुहार हुन् । उक्त निर्वाचनमा सम्मानजनक मत प्राप्त गरेका ज्ञवाली यसपटक आम जनता पार्टीबाट उम्मेदवार बनेका हुन् ।

ठुला राजनीतिक दलबाट उम्मेदवारी दिएकामध्ये नेकपा एमालेका पुरुषोत्तम पौडेल नयाँ अनुहारका देखिएका छन् । २०७० सालमा बारा क्षेत्र नं. ६ बाट संविधानसभा सदस्यमा निर्वाचित पौडेल त्यसयता उम्मेदवार बनेका छैनन् । मंसिर ४ को निर्वाचनमा उनि बारा १ बाट प्रतिनिधिसभा सदस्यको आकांक्षी थिए । उनी आकांक्षी रहेको क्षेत्रमा अर्का पोलिटव्युरो सदस्य अच्युत मैनालीले टिकट पाएका थिए ।

पौडेल झण्डै ९ वर्षपछि प्रत्यक्ष निर्वाचन लड्दैछन् । पूर्व युवा तथा खेलकुद मन्त्री समेत रहेका पौडेल ‘हेभिवेट भिडन्त’ मा सफल हुँदै प्रतिनिधिसभा प्रवेश गर्न तयार देखिन्छन् । जनताबाट अस्विकृत भएका व्यक्तिहरुले बारा २ लाई भाग्य अजमाउने ठाँउको रुपमा लिएको भन्दै पौडेलले मधेसका जनता सचेत भईसकेको बताए ।

पौडेलको मनोयनका क्रममा एमाले केन्द्रीय सचिव रघुवीर महासेठ, पोलिटव्युरो सदस्य अच्युत मैनाली, ज्वालाकुमारी साह, केन्द्रीय सदस्य राजकुमार गुप्ता, महमद समीरलगायतका नेता निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका तेली, हाम्रो नेपाली पार्टीका सुवेदी पनि अघिल्लो निर्वाचनमा पराजित अनुहार हुन् । यता राजनीतिक दल भन्दा स्वतन्त्र उम्मेदवारको संख्या दोब्बर देखिएको छ । १२ जनाले राजनीतिक दलबाट उम्मेदवारी दिँदा २४ जना स्वतन्त्र उम्मेदवार बनेका छन् । स्वतन्त्र रहेका अधिकांश उम्मेदवार डमी हुन् ।

निर्वाचन कार्यालयबाट प्राप्त गर्ने सवारीसहितको अन्य सूविधा लिनका लागि राजनीतिक दलले स्वतन्त्र उम्मेदवार उठाउने गरेका छन् । यसअघि मंसिर ४ मा सम्पन्न निर्वाचनमा बारा २ मा ११ जना स्वतन्त्र उम्मेदवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्