अरु जिल्लाबाट उखेलिएपछि उपेन्द्र बारा आएः ओली


eShilalekh

२२ चैत्र २०७९, बुधबार १७:५९

सिमराः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसकै अन्य जिल्लाबाट उखेलिएपछि उपेन्द्र यादव चुनाव लड्न यतिबेला बारा आएको बताएका छन् । ओलीले मोरङ, सुनसरी र सप्तरीबाट उखेलिएपछि यहाँका जनतालाई लाटो र सोझो ठानेर यादव बारा आएको बताए ।

एमाले जिल्ला कमिटी बाराले बुधवार बरियारपुरमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै ओलीले अन्य जिल्लामा सफल हुन नसकेका यादवले बारामा चुनाव जितेपनि माला लगाउने बाहेक अरु केही नगर्ने बताए ।

‘उहाँ पहिला मोरङबाट लड्नुहुन्थ्यो त्यहाँबाट उखेलिएपछि सुनसरीबाट लड्नुभयो । त्यहाँबाट पनि उखेलिएपछि सप्तरी आउनुभयो । सप्तरीबाट जरानै टकटक्याएपछि बारा आउनुभएको छ’ ओलीले भने ‘उहाँले चुनाव जितेपनि माला लगाउने र मन्त्री बन्ने बाहेक के गर्नुहुन्छ ?’

मधेसका मसिहा भन्नेले जनता ठग्ने बाहेक केही पनि नगरेको भन्दै ओलीले यादव अहिले देश लुटन बनेको १० दलीय गठबन्धनको सदस्य रहेको बताए । यादवबाट कुनै पनि विकासका कामको आश गर्न नसकिने ओलीको भनाई थियो ।

मधेसका हुलाकी राजमार्ग, हुरी बतासले भत्किएका जनताका घर एमाले नेतृत्वको सरकारको पालामा बनेको भन्दै ओलीले बाराको मात्र नभई देशकै विकासका लागि पनि एमालेको बहुमतसहितको सरकार आवश्यक रहेको बताए ।

मंसिर ४ को चुनावी प्रशंग जोड्दै ओलीले कांग्रेस, माओवादीले साथ छोडेर आपत परेका बेला एमालेले यादवलाई साथ दिएको र चुनावपछि उनले धोका दिएको बताए । ‘सबैले साथ छोडेर आपत परेका बेला हामीले संगै मिलेर जाँउ भनेर साथ दियौं’ ओलीले भने ‘चुनाव जितेपछि उहाँको भूमिका बेग्लैबेग्लै हुन थाल्यो । हामीसंग राम्रो गर्ने अनि अन्त गएर षडयन्त्र गर्ने भूमिका देखियो ।’

ओलीले यादवको चरित्र जनतासामु छर्लङग् रहेको भन्दै बाराका जनताले एमालेको पक्षमा मतदान गर्ने बताए । देश र जनताको हितका लागि काम गर्ने पार्टी एमालेमात्रै रहेको भन्दै ओलीले बारा २ का जनताले एमालेका उम्मेदवारलाई बिजयी गराउनेमा आफू ढुक्क रहेको बताए ।

एमालेले बारा २ मा पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेललाई अघि सारेको छ । पौडेल पूर्व युवा तथा खेलकुद मन्त्री समेत हुन् । पौडेलले सभामा सम्बोधन गर्दै बाराको माटोले चिनेको उम्मेदवारलाई यहाँका जनताले मतदान गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्