एमालेको बढ्दो जनलहरले चुनाव जित्नेमा ढुक्क छुः उम्मेदवार पौडेल


eShilalekh

२९ चैत्र २०७९, बुधबार १३:३०

उमजनः नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. २ मा एमालेको बढ्दो जनलहरले आफू निकै उत्साहित रहेको बताएका छन् । चुनावी प्रचारमा व्यस्त रहेका उम्मेदवार पौडेलले मतदातामा देखिएको उत्साहले चुनाव जित्नेमा समेत आफू ढुक्क रहेको बताए ।

उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेसंगै प्रचारलाई तिव्र बनाएका पौडेल यतिबेला बारा २ का मतदातासंग मत मागिरहेका छन् । २०७० सालपछि प्रत्यक्ष निर्वाचन लड्दै गरेका पौडेलले मतदातासामु विकासका एजेण्डा समेत राखिरहेका छन् ।

जिल्लाको अन्य क्षेत्रको तुलनामा बारा २ निकै पछि परेको गुनासो आफूले सुन्नुपरेको भन्दै उम्मेदवार पौडेलले क्षेत्रको विकासका लाससग खाकासहित आफू चुनावी मैदानमा उत्रिएको बताए । मतदाताको गुनासो घरमै पुगेर सुनिरहेका उम्मेदवार पौडेलले आफू निर्वाचित भएपछि बारा २ को मुहार फेरिने बताएका छन् ।

‘अन्य क्षेत्रको तुलनामा बारा २ निकै पछि छ । यस क्षेत्रमा यसअघि जित्ने प्रतिनिधिले काम गरेको देखिएन’ उम्मेदवार पौडेलले भने ‘विकास कस्तो हुन्छ भन्ने कुरा एमालेको जितपछि थाहा हुनेछ । हामी जनता र क्षेत्रको मुहार फेरिने गरी काम गर्छौ ।’

निर्वाचन क्षेत्र घुम्ने क्रममा मतदाताबाट पाएको प्रतिक्रिया र साथले आफूलाई उत्साहित बनाएको र बारा २ का विकासका लागि पनि आफ्नो जित आवश्यक रहेको नेता पौडेलको भनाई छ । एमालेको पुरानो र प्रभावशाली नेताका रुपमा परिचित पौडेल जसपाका उपेन्द्र यादवलाई चुनौती दिदै बलियो यतिबेला प्रतिस्पर्धीका रुपमा अगाडी देखिएका छन् । जसपाका नेताहरु समेत आफूहरुको लडाई एमालेसंग रहेको बताउन थालेका छन् ।

सप्तरी २ बाट पराजित भएका जसपा अध्यक्ष यादव यतिबेला बारा २ मा आएर चुनाव लडिरहेका छन् । उनिसंगै अघिल्लो निर्वाचनमा गठबन्धनका उम्मेदवार रहेका शिवचन्द्र कुशवाहा जनमत पार्टीबाट उम्मेदवार छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्व डिआईजी रमेश खरेल र आम जनता पार्टीबाट अरुण ज्ञवाली उम्मेदवार छन् ।

एमाले उम्मेदवार पौडेलबाहेक अन्य सबै उम्मेदवार २०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्