बारा २ मा आफ्नो पक्षमा जनलहर बढेको एमालेको दाबी, उम्मेदवार पौडेल उत्साहित


eShilalekh

३० चैत्र २०७९, बिहीबार २२:५७

कलैयाः बारा क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलको पक्षमा जनलहर देखिन थालेको भन्दै एमालेका उम्मेदवार उत्साहित देखिएका छन् । पुरानो र जनमुखी नेताका रुपले समेत परिचित पौडेल मतदाताको उत्साहजनक सहभागिताले उत्साहित छन् ।

चुनावी प्रचारका क्रममा घरदैलोमा पुगिरहेका एमाले उम्मेदवार पौडेल मतदाताले जितको शुभकामना समेत दिन थालेको बताउछन् । कुशल नेतृत्वको अभावमा बारा २ को विकास हुन नसकेको दुखेसो पोख्दै मतदाताले बाहिर जिल्लाको मान्छेलाई चुनाव जिताएर पुनः विकासबाट पछि नपर्ने बताएको एमाले उम्मेदवार पौडेलको भनाई छ ।

घरदैलोमा पुगेका पौडेललाई चुनाव जितेर बारा २ को मुहार फेरिने गरी काम गर्न अनुरोध गरेको पौडेलले बताए । उनका अनुसार जिल्लाको अन्य क्षेत्रको तुलनामा बारा क्षेत्र नं. २ निकै पछि परेको र विकासको नारा लिएर यसअघि चुनाव जितेका व्यक्तिले क्षेत्रको विकासका लागि काम नगरेका कारण आफूहरु पीडित हुनुपरेको मतदाताको भनाई छ ।

चुनावी प्रचारका क्रममा बिहिवार देवताल गाँउपालिका पुगेका उम्मेदवार पौडेललाई मतदाताले अब जनताले पुरानो गल्ती नदोहोर्याउने बताएका थिए । देवतालका स्थानीय रविन्द्र यादवले फेरी पनि मधेसको नारा बोकेर जनतालाई झुक्याउन केही नेता लागिपरेको भन्दै आफूहरु सचेत रहेको बताए । उनले अबको जनता झुठो नारामा नपर्ने र बारा २ को विकासका लागि काम गर्ने नेतालाई बिजयी गराउने बताए ।

मतदाताको उत्साहजनक सहभागिताले एमालेका नेतृत्व समेत उत्साहित भएका छन् । उम्मेदवार पौडेलको चुनावी प्रचारमा सक्रियताका साथ लागेका बारा क्षेत्र नं. १ सांसद अच्युत मैनालीले जनता अब भ्रममा नपर्ने बताए । चुनावी सभालाई सम्बोधन गर्दै नेता मैनालीले मधेस र पहाडी समुदायबीचको जातिय सदभाव बिगारेर यसअघि चुनाव जितेका र अहिले चुनाव लडेकाहरुलाई जनताले अब नपत्याउने बताए ।

एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले एमालेको पक्षमा देखिएको जनलहरले आफू निकै उत्साहित रहेको बताएका छन् । यसअघि चुनाव जितेका र चुनाव जित्नका लागि अन्य जिल्लाबाट बारा आएकाहरुसंग जनता सन्तुष्ट नरहेको पौडेलको भनाई थियो । एमालेले देश र जनताका लागि गरेका कामबाट सन्तुष्ट जनता यतिबेला आफै घरबाट निस्किएर चुनाव प्रचारका लागि जुटिरेहको नेता पौडेलले बताएका छन् ।

एमालेको घरदैलोमा सहभागी भएर उम्मेदवार पौडेलको पक्षमा मत मागिरहेकी पार्वती यादवले अब जनतालाई कसैले पनि झुक्याउन नसक्ने बताईन् । आफूलाई एमालेले बोलाएर नभई आफ्नो इच्छाले चुनावी अभियानमा जोडिएको भन्दै उनले यसपटक एमालेलाई जिताएर आफ्नो क्षेत्रको विकास गर्ने बताईन् ।

एमालेले जितेका अन्य क्षेत्रमा भएका विकास निर्माणका काम हेरेर पनि बारा २ का जनताले यसपटक एमालेलाई नै जिताउनुपर्ने पार्वतीको भनाई थियो । यसअघि एमालेको उम्मेदवार नभएका कारण एउटै पार्टीले चुनाव जितिरहेको तर काम भने केही नगरेको उनले गुनासो पोखिन् । उनले एमालेले यसपटक चुनाव जित्नेमा आफू ढुक्क रहेको बताईन् ।

प्रतिक्रिया दिनुहोस्