बारा २ मा एमालेलाई जिताउन मतदाता आतुर छन्ः उम्मेदवार पौडेल


eShilalekh

१ बैशाख २०८०, शुक्रबार २०:५६

पचरौताः नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. २ मा नेकपा एमालेको जित सुनिश्चित रहेको बताएका छन् । चुनावी अभियान अन्तर्गत शुक्रवार पचरौता र तेतरियामा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले बारा २ का जनता एमाले जिताउन आतुर रहेको बताए ।

पचरौतामा आयोजित नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उम्मेदवार पौडेलले मधेसको मुद्धा उठाएर चुनाव जित्नेहरुको दिन अब सकिएको बताए । उनले बारा २ मा अब एमालेले नेतृत्व गर्ने र क्षेत्रको विकासलाई द्रुत गतिमा अघि बढाउने बताएका छन् ।

‘बारा २ का जनता एमालेलाई मतदान गर्न आतुर रहेको पाए, यो सबै यसअघि जितेकाहरुले काम नगर्दाको परिणाम हो’ उम्मेदवार पौडेलले भने ‘अब एमालेले चुनाव जितेपछि विकास भनेको के हो देखाउनेछ ।’

बारा २ का मतदातालाई सत्तामा पुग्ने खुड्किलोको रुपमा प्रयोग गर्न केही नेताहरु चुनावी मैदानमा देखिएको भन्दै उम्मेदवार पौडेलले अब यस क्षेत्रका मतदाताले त्यस्तो हुन नदिने दाबी गरे । उनले बारा २ का जनता सचेत रहेको र क्षेत्रको विकासका लागि काम गर्ने नेता चयन गर्न योग्य रहेको समेत बताए ।

यसैगरी तेतरियामा आयोजित सभामा बोल्दै उम्मेदवार पौडेलले बारा २ नेकपा एमालेको क्षेत्र रहेको बताए । बारा २ कम्युनिष्ट नेता सोहन चौधरीले चुनाव जितेको क्षेत्र रहेको स्मरण गराउदै उम्मेदवार पौडेलले अब पुनः एमालेको झण्डा फहरिने बताए । उनले एमालेको जितले मात्रै बारा २ को मुहार फेरिने बताएका छन् ।

चुनावी सभामा एमालेका केन्द्रीय सचिव योगेश भट्टराई, पोलिटव्युरो सदस्य अच्युत मैनाली, ज्वालाकुमारी साह, केन्द्रीय सदस्य अरविन्द सिंह, प्रदेशसभा सदस्य देवनारायण चौधरीलगायत एमाले नेताकार्यकर्ता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्