चुनाव हार्दै क्षेत्र परिवर्तन गर्दै हिड्नेलाई जनताले मत दिदैनन्ः एमाले नेता लालबाबु पण्डित


eShilalekh

२ बैशाख २०८०, शनिबार २२:१९

सिमराः करैयामाई गाउँपालिकाको मधुवनमा शनिवार नेकपा एमालेको चुनावी सभा सम्पन्न भएको छ । बैशाख १० गते हुने उपनिर्वाचनलाई केन्द्रीत गर्दै एमालेले चुनावी सभा सम्पन्न गरेको हो ।

सभालाई एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डित, एमाले उम्मेदवार पुरुषोत्तम पौडेल, एमाले पोलिटब्युरो सदस्य एवम् बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य अच्युत मैनाली, एमाले पोलिटब्युरो सदस्य एवम् बारा क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य ज्वाला साह, केन्द्रीय कमिटी सदस्य बलवीर चौधरीलगायतले सम्बोधन गरेका थिए ।

सभामा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता पण्डितले चुनाव हार्ने अनि निर्वाचन क्षेत्र परिवर्तन गर्दै हिडने मान्छेलाई जनताले मतदान नगर्ने बताए । नेता पण्डितले जसपा अध्यक्ष यादव अन्यत्रबाट भागेर बारा आएको बताए ।

नेता पण्डितले पटकपटक सांसद र मन्त्री बनेर पनि केही काम नगरेपछि जसपा अध्यक्ष यादवलाई जनताले मत नदिएको र चुनावमा पराजित भएपछि क्षेत्र परिवर्तन गर्दै हिडेको बताएका छन् ।

एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले यसअघि निर्वाचित भएका जनप्रतिनिधिहरुले काम गर्न नसकेकोले विकासको दृष्टिले क्षेत्र नम्बर २ पछि परेको बताएका छन् । विगतमा मौका पाउदा जनताको पक्षमा काम गर्न नसक्नेहरु फेरि पनि उम्मेदवार बनेर आएकाले जनता सचेत हुनुपर्ने बताए ।

‘मोरङ, सुनसरी र सप्तरीमा केही काम गर्न नसकेपछि गत निर्वाचनमा हारेका मान्छे अहिले फेरि उम्मेदवार बनेका छन्’ उम्मेदवार पौडेलले भने ‘आफ्नो जिल्लाको लागि केही गर्न नसकेकाहरुले बाराको विकासको लागि काम गर्छन भनेर कल्पना पनि गर्न सकिदैन ।’

पौडेलले विगतका दुई निर्वाचनमा पार्टीले उम्मेदवारी नदिएको भएपनि यसपटक एमाले चुनाव जित्ने गरी निर्वाचनमा उत्रिएको बताए । उनले आफ्नो जित निश्चित भएकोले उत्साहका साथ चुनाव प्रचारमा लाग्न र एमालेको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरे ।

स्थानीय एमाले नेता रामाधार चौधरीको अध्यक्षतामा भएको सम्पन्न कार्यक्रमको संचालन नेकपा एमाले करैयामाई गाउँ कमिटीका अध्यक्ष धिरेन्द्र चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्