बारा २ मा चुनावी रस्साकस्सी (फोटोफिचर)


eShilalekh

५ बैशाख २०८०, मंगलवार १०:२९

सिमराः बारा क्षेत्र नं. २ मा चुनावी सरगर्मी निकै बढेको छ । बैशाख १० गतेको उपनिर्वाचनका लागि राजनीतिक दलको शक्ति यतिबेला बारा २ मा परिचालित देखिन्छ । उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवार र राजनीतिक दलको दौडधुपले चुनावी माहोल तातेको छ ।

देशका तीन स्थानमा भईरहेको उपनिर्वाचनमध्ये बारा क्षेत्र नं. २ मा राजनीतिक नेतृत्वको ध्यान केन्द्रीत छ । यस क्षेत्रबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सत्तारुढ दलको साझा उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा छन् । मंसिरमा सम्पन्न चुनावमा सप्तरी २ मा पराजित भएका यादवले चार महिनामै उपनिर्वाचनको बाटो राजेका हुन् ।

जनमत पार्टीका अध्यक्ष सिके राउतसंग पराजित भएका यादवका लागि बारा २ पनि भनेजस्तो सजिलो छैन् । बारामा पनि उनीसामु डा. राउत बाधक बनेर अगाडी आएका छन् । राउतले मंसिरमा सम्पन्न चुनावमा गठबन्धनको उम्मेदवार भइ थोरै मतान्तरले पराजित शिवचन्द्र कुशवाहालाई चुनावी मैदानमा उतारेका छन् ।

नेकपा माओवादी केन्द्रका कुशवाहालाई पार्टी प्रवेश गराउदै डा. राउतले उम्मेदवार मात्रै बनाएनन् आफै चुनावी कमाण्ड सम्हालिरहेका छन् । मनोनयन दर्तापछि बारामै बसिरहेका डा. राउतले सम्हालेको चुनावी कमाण्डलाई उछिन्दै जित सुनिश्चित गर्न यादवलाई सकस देखिन्छ ।

त्यसो त जसपा अध्यक्ष यादव चुनावी मैदानमा प्रतिस्पर्धीनै नभेटेको बताईरहेका छन् । मैदानमा प्रतिस्पर्धी नै नदेखेकाले चुनाव जित्नेमा ढुक्क रहेको यादव बताउछन् । बारा २ का जनता आफूलाई जिताउन उत्साहित रहेको यादवको भनाई छ ।

तर जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले भने जसपा अध्यक्ष यादवले चुनावी जित्ने कुनै आधार नदेखेको दावी गरिरहेका छन् । उनले सप्तरीबाट पराजित भएका यादवलाई बारा २ का जनताले किन जिताउने भन्दै प्रश्न तेस्र्याउछन् ? राउतको भनाई अनुसार बारा २ का जनताले धर्तीपुत्रलाई जिताउनेछन् । अर्थात आफ्नै पार्टीका उम्मेदवार कुशवाहाको जित सुनिश्चित रहेको राउतको दावी छ ।

‘जसले आफ्नै चुनावी क्षेत्रमा केही गर्न सकेन, पराजित भएर अहिले बारा आएको छ’ राउतले भने ‘उसले यहाँ चुनाव जित्ने आधार नै छैन् । धर्तीपुत्रले चुनाव जित्ने निश्चित छ ।’

राउतको भनाईलाई जसपाका यादवले भने फर्जी कुरा भनिरहेका छन् । आफ्नो उम्मेदवारको प्रचार गर्ने भन्दा पनि डा. राउतले आफू नै उम्मेदवार भएजसरी मत मागिरहेको यादवले बताए ।

‘आफ्नो उम्मेदवारको सामाजिक छविका कारण राउतले आफू नै उम्मेदवार भएजसरी मत मागिरहेका छन्’ यादवले भने ‘यो सबै जनता झुक्याउने फर्जी कुरा हो । फर्जी काम गर्न राउत बारामा समेत आएका छन् ।’

आफूलाई चुनावमा पराजित गर्छु भन्दै हिडिरहेका राउतलाई यादवले परिचालित व्यक्तिको संज्ञा दिएका छन् । ‘उपेन्द्र यादव हार्छ भन्दै बोली राउतको होइन अरुको हो । मुख उहाँको तर भनाई अरुको हो । राउतले त जागिर खाईरहनुभएको छ ।’

चार महिनामै उपनिर्वाचनमा होमिएका यादव यो अवसर खेर फाल्न चाहदैनन् । चुनाव जित्न उनले सकेको शक्ति प्रयोग गरिरहेका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको घरलाई मुकाम बनाएर जसपा अध्यक्ष यादवको चुनावी अभियान अघि बढिरहेको छ । यादवको चुनावी प्रचारमा प्रदेशका मन्त्री अर्थ मन्त्री संजीवकुमार यादव, सामाजिक विकास मन्त्री सुरिताकुमारी साहसहित प्रदेशसभा सदस्य, सत्तारुढ दलका नेता सक्रिय भएर लागेका छन् ।

यता जनमत पार्टीका अध्यक्ष राउत आफै मतदाताको घरघरमा पुगिरहेका छन् । उनले चुनावी अभियानलाई स्वाभिमान यात्रा बताईरहेका छन् । बारा २ को विकासमा धर्तीपुत्रको खाँचो रहेको बताउदै राउत घरदैलोमा डुलिरहेका छन् । राउतको उपस्थितीले कुशवाहालाई राहत मिलेको देखिन्छ ।

यता मधेसवादी दलका दुई शिर्ष नेताबीचको रस्साकस्सीको फाइदा उठाउने दाउमा नेकपा एमाले देखिन्छ । एमालेले पोलिव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई चुनावी मैदानमा अघि सारेको छ । बाराको भूमिमा राजनीतिक जिवन बिताएका पौडेल पनि चुनाव जित्नेमा ढुक्क देखिन्छन् ।

‘जनताको साथ एमालेले प्राप्त गरिरहेको छ । काम गर्ने पार्टी कुन हो भनेर जनताले बुझेका छन्’ उम्मेदवार पौडेलले भने ‘त्यसैले पनि एमालेको जित सुनिश्चित देखेको छु ।’

एमालेको चुनावी अभियानमा शिर्ष तहका नेता समेत सहभागी भईरहेका छन् । त्यसबाहेक बारा १ बाट निर्वाचित पोलिटव्युरो सदस्य अच्युत मैनाली र बारा ३ बाट निर्वाचित पोलिटव्युरो सदस्य ज्वालकुमारी साह पौडेलको प्रचारमा सक्रिय देखिएका छन् । दुई निर्वाचन क्षेत्रमा निर्वाचित मैनाली र साहको उपस्थितीले पौडेलको चुनावी अभियानलाई बलियो बनाउदै लगेको छ । त्यसबाहेक मधेसबादी दुई दलबीचको लडाईको फाइदा लिने दाउमा एमाले देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवाली पनि चुनावी मैदानमा सक्रियताका साथ लागेका छन् । काठमाण्डौमा पराजित भएका खरेल मधेसको भूमिबाट चुनाव जित्नेमा ढुक्क देखिन्छन् । उनको चुनावी अभियानमा साथ दिन पार्टी सभापति रवि लामिछाने एकपटक बारा आईसकेका छन् भने अन्य नेतृत्व सक्रियताका साथ लागिरहेका छन् ।

यता प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार ज्ञवाली चुनावको नतिजा आफ्नो पक्षमा आउने दावी गरिरहेका छन् । मंसिरमा सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई करिब आठ हजार मत प्राप्त गरेका ज्ञवाली यसपटक आम जनता पार्टीबाट उम्मेदवार बनेका हुन् । उनको चुनावी अभियानमा अध्यक्ष साह आफै सक्रिय भएका लागेका छन् ।

राजनीतिक दलका उम्मेदवार सबैले चुनाव आफूले जित्ने दावी गरिरहेपनि आममतदाता भने अन्यौलमा देखिन्छन् । विकासको नारा बोकेर घरदैलोमा पुगिरहेका उम्मेदवारलाई धुलाम्य सडक र फुसको घरबाट मतदाताले नियालिरहेका हुन्छन् । चुनावमा नारा बोकेर आएपनि विकासका काम भने नगरेको मतदाताको गुनासो छ ।

बारा क्षेत्र नं. २ मा करिब एक लाख पाँच हजार मतदाता छन् । यस निर्वाचन क्षेत्रमा पचरौता नगरपालिका, महागढीमाई नगरपालिका, करैयामाई, देवताल, सुवर्ण गाँउपालिका र कोल्हबी नगरपालिकाको वडा नं. ८ को भुभाग पर्छ ।

प्रतिक्रिया दिनुहोस्