बारा २ मा एमालेको जित सुनिश्चित छः नेता ईश्वर पोखरेल


eShilalekh

६ बैशाख २०८०, बुधबार १८:१५

नरहीः नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले बारा क्षेत्र नं. २ मा एमालेको जित सुनिश्चित रहेको बताएका छन् । चुनावी अभियानका क्रममा बुधवार बारा आएका नेता पोखरेलले चुनाव जित्ने थुप्रै आधार रहेकाले उम्मेदवार पुरुषोत्तम पौडलको बिजय निश्चित रहेको बताएका हुन् ।

बैशाख १० गते हुने निर्वाचनका लागि एमालेको ठुलो शक्ति एकताबद्ध ढंगले परिचालित हुनु र विकासप्रेमी नेता उम्मेदवारका रुपमा मैदान हुनुनै एमालेले चुनाव जित्ने मुख्य आधार रहेको पोखरेलको भनाई थियो ।

नेता पोखरेलले फिरंगी र पार्टी चाहार्दै हिड्नेलाई भन्दा जनतासंग बसेर काम गर्ने भूमिपुत्रलाई जिताउन बारा २ का मतदाता उत्साहित देखिएको बताए । लामो समयदेखि बाराको भुगोलमा बसेर जनता पक्षमा काम गरेका व्यक्तिलाई एमालेले उम्मेदवारका रुपमा अघि सारेको भन्दै नेता पोखरेलले यसको मुल्यांकन जनताले नै गर्ने प्रतिक्रिया दिए ।

अन्य पार्टीका उम्मेदवार र एमालेको उम्मेदवारलाई तुलना गरेर जनताले मतदान गर्ने नेता पोखरेलको भनाई थियो । नेता पोखरेलले बारा क्षेत्र नं. २ को विकासका लागि पनि एमाले उम्मेदवार पौडेलको जित आवश्यक रहेको बताए ।

नेता पोखरेलले करैयामाई गाउँपालिकाको नरहीमा रहेको सहिद मुखलाल महतोको शालिकमा माल्यार्पण गरेका थिए । उनले उम्मेदवार पौडेलसंगै मतदाताको घरमा पुगेर एमालेको पक्षमा मतदान गर्न आहवान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्